Logo

नेकपामा गुटको राजनीति : बहुमतीय प्रणाली कि सहमति ?



मंसिर २१, काठमाण्डौ । यतिबेला सत्तारुढ दल नेकपाको विवादमा केपी ओली पक्षधर एकातिर छन् भने पुष्पकमल दाहाल माधवकुमार नेपाल पक्षधर अर्कोतिर । गुटगत राजनीति कै कारण नेकपामा एकले अर्को पक्षलाई गलत साबित गर्न कम्मर कसेर लागेका छन् । दाहाल नेपाल पक्षधरले ओलीलाई पार्टीको जुनसुकै बैठकमा पनि उपस्थित हुन दबाब दिइरहेको छ भने ओली पक्षले अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले पार्टीको कुनै पनि बैठक आवश्यक नरहेको बताइरहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र उनलाई साथ दिएका वरिष्ठ नेता माधवकुमार नेपालको बलमा बैठक भइरहेको छ । तर यसअघि १७ गतेको सचिवालय बैठक बहिस्कार गरेका ओलीले आइतबार स्थायी कमिटिमा पनि उपस्थित भएनन् । स्थायी कमिटीलाई ओलीले पत्र पठाउँदै बैठकको औचित्य नभएको तर्क प्रस्तुत गरेका थिए ।

दाहाल नेपाल पक्षले ओलीको अनुपस्थितीलाई पार्टीको नीति विपरित भनेका छन् । यद्यपी पत्र पठाएर भए पनि उपस्थितीको संकेत दिएको भन्दै ओलीप्रति लचकता प्रस्तुत गरेका छन् । दाहाल नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले अबको बैठक भने ओलीले कुनै पनि बहानामा टार्न हुने बताएका छन् । बैठकमा उपस्थित नभए विधि र पद्धतिअनुसार अघि बढ्ने भन्दै रावलले बहुमतीय प्रणालीबाट अघि बढ्ने चेतावनी दिए ।

बहुमति प्रणालीमा जाँदा ओली पक्ष अल्पमतमा पर्ने निश्चित छ । सचिवालयदेखि स्थायी कमिटी, केन्द्रिय समिति र संसदीय दलमा पनि ओली कमजोर अवस्थामा छन् । त्यसैले हुन सक्छ ओली पक्षका स्थायी कमिटि सदस्यहरुले अल्पमत र बहुमतका आधारमा अघि बढ्न खोजै पार्टी दुर्घटनामा पर्ने चेतावनी दिइरहेका छन् । ओली निकट स्थायी कमिटी सदस्य पुथ्वी सुब्बा गुरुङले ओलीको अडान सही भएको भन्दै सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । अन्यथा पार्टी दुर्घटनामा पर्ने गुरुङको चेतावनी छ ।

यसरी दुई पक्षबीच फरक फरक धारणा आइरहँदा नेकपाको विवाद समाधात तत्काल हुने संकेत देखिदैन । २८ गतेका लागि तय भएको स्थायी कमिटी बैठकमा ओली उपस्थित हुन्छन वा हुँदैनन भन्ने कुराले विवादको दिशा तय गर्ने छ । उक्त बैठकअघि कुनै सहमति हुन सकेमा पनि नेकपाको विवादले सहज अवतरण गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot