Logo

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित



काठमाडौं, मंसिर २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पेस भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गतेसम्मलाई स्थगित भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सहभागी हुनु भएन । ओलीले बैठकलाई सम्बोधन गर्दै आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असमर्थ रहेको बेहोराको पत्र पठाउनुभएको थियो । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित रहनुभएको र पत्रमा प्रधानमन्त्रीले आफ्नो पूर्वमान्यताअनुरुप अर्का अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहकाले अनुपस्थित रहेको जानकारी दिनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीको अनुपस्थिति रहे पनि अर्का अध्यक्ष दाहाल अध्यक्षताको बैठकले पार्टी एकतालाई केन्द्रमा राख्दै छलफल चलाउने तथा दुवै अध्यक्षबाट प्रस्तुत भएका प्रतिवेदनको अध्ययन गरी मंसिर २८ गते स्थायी समिति र मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय समितिको बैठक पुस ५ लाई सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot