Logo

व्यावसायिक तालीमको मोह बढ्दो



भजनी, २२ मंसिर । पछिल्लो समय व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै गएको छ । तालिमले आयआर्जनमा बृद्धि गर्न सहयोग पु¥याएपछि प्रभावकारी बन्दै गएको हो । व्यवसाय सञ्चालन, रोजगारी, सीप र मुख्य प्राथमिकतामा राखेका तालीमप्रतिको आकर्षण बढ्दैछ । पछिल्लो समय सरकारलेसमेत व्यावसायिक तालीमलाई मुख्य प्राथमिकता दिन थालेको छ । यसले गर्दा स्थानीय क्षेत्रमा पनि तालीमको माग बढ्दै गएको बताइएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा विभिन्न विधामा लामो तथा छोटो अवधिका तालीम सञ्चालनमा ल्याइरहेको छ । परिषद्द्वारा शिक्षा तथा व्यावसायिक तालीम सञ्चालनमा ल्याउने उद्देश्यले विसं २०६६ मा टीकापुर पोलिटेक्निक इन्स्टिच्युट स्थापना गरिएको थियो । इन्स्टिच्युटमा कृषि, पशुविज्ञान, सिलाइबुनाइ, सौन्दर्य, बेमौसमी तरकारीखेती, निर्माणसँगै मागअनुसार छोटो अवधिका विभिन्न सीपसम्बन्धी तालीम सञ्चालित रहेको छ ।

इन्स्टिच्युटले आवश्यकता र मागअनुसार विभिन्न समयमा छोटो अवधिका तालीम पनि प्रदान गर्दै आएको इन्स्टिच्युटका प्रमुख टेकेन्द्र थापा जानकारी दिए। इन्स्टिच्युटले मोबाइल मरमत, आधरभूत कम्युटर अपरेटर, उपकरण, प्लम्बिङ, हाउस वाइरिङ, सिलाइबुनाइ, सौन्दर्य, बेमौसमी तरकारीखेती, सामुदायिक पशु स्वास्थ्य सहायक, सामुदायिक कृषि सहायकलगायतका तालीम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म करिब तीन हजारभन्दा बढीले इन्स्टिच्युटबाट तालीम लिइसकेका जनाइएको छ ।

टीकापुरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश तिमिल्सिनाले व्यावसायिक तालीमले बजारमा एक प्रकारको तरङ्ग ल्याएको जानकारी दिए । उनले हिजो अनुमान र परम्परागतरुपमा काम हुँदै आएकामा अहिले तालीम लिएर गरिने काम धेरै प्रभाकारी भएको बताए। पोलिटेक्निक इन्स्टिच्युटले उत्पादन गरेकाले सहजै बजारमा रोजगारीको अवसर पाएका छन् । “मसँग पनि अहिले चार जना पोलिटेक्निकमा तालीम लिएकाले काम गर्दै आएका छन्”, उनले भने, “तर सबै पूर्ण छ भन्न त सकिँदैन । व्यावसायिकरुपमा दिइने तालीमले बेरोजगारलाई रोजगारमा जोड्ने काम पोलिटेक्निकले गर्दै आएको छ ।”

सिलाइकटाइ व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष प्रेम चौधरी पोलिटेक्निकलबाट तालीम लिएका पाँचजनाले आफैँसँग काम गरिरहेको बताउछन् । उनले आर्थिक अवस्था कमजोर, पिछडिएका वर्ग, काम गर्न चाहनेका लागि पोलिटेक्निक वरदान भएको बताउनुभयो । अध्यक्ष चौैधरीले गत वर्ष पोलिटेक्निकको सिलाइकटाइमा सहभागी ४० जनालाई आफँले तालीम दिएको र ती मध्ये पाँचजनालाई आफ्नै व्यवसायमा रोजगारी दिएको बताए । “सङ्घसंस्था र सरकारबाट थुप्रै खालका व्यावसायिक तालीम हुने गरेका छन् । तर ती तालीम पूर्ण हुँदैनन् र सहभागीले दक्षतासमेत हासिल गर्न सकेको छैन ।” उनले भने, तालीम दिएपश्चात् पनि ती व्यक्तिको अनुगमन र निगरानी हुन जरुरी छ ।यसले गर्दा राज्यले गरेको खर्च सही ठाउँमा सदुपयोग होस् ।”

टीकापुरमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद न्यौपानेले अन्य सङ्घसंस्थाले दिएको तालीमभन्दा पोलिटेक्निक इन्स्टिच्युटले दिएको तालीम विश्वसनीय रहेको जानकारी दिए । “प्रयोगात्मकरुपमा तालीम अझै प्रभावकारी हुन सकेका छैनन् । सैद्धान्तिकरुपमा मात्रै बढी प्राथमिकता दिएको जस्तो देखिन्छ”, उनले भने, “मसँग काम गर्ने १० जना छन् । उनीहरुले पनि व्यावसायिक तालीम नै लिएर आएका हुन् । तर सहजै विश्वास हुनेगरी सीप सिक्न सकेको देखिएन ।” व्यवसायि न्यौपाने बजारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नसक्ने तालीमको आवश्यताका रहेको बताउछन् । रासस



प्रतिक्रिया दिनुहोस्