Logo

प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि मात्र पार्टी बैठकमा जाने ओलीको बटमलाइन



काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली यथास्थितिमा पार्टी बैठकमा नजाने भएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरी स्थायी कमिटीमा बाँडेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा नजाने अडान लिएका हुन् ।

ओलीले हिजो स्थायी कमिटी बैठकमा पत्र लेखेर प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका थिए । त्यसको औचित्यमाथि प्रश्न उठाउँदै उनले निशर्त फिर्ता हुनुपर्ने अडान छाडेका छैनन् । ओलीलाई बैठकमा सहभागी गराउन मध्यमार्गीहरु लागेपनि उनले मानेका छैनन् । प्रचण्डलाई पनि प्रस्ताव फिर्ता गरेर साझा प्रतिवेदन बनाएर जान ओली निकटस्थहरुले आग्रह गरेका छन् । तर, उनीपनि कुनै हालतमा प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् ।

ओली र प्रचण्ड आ आफ्नै अडानमा रहेकाले नेकपा विवाद अनिर्णयको बन्दी बनेको छ । ओलीलाई हिजो स्थायी कमिटीले सात दिनको समय दिएको छ । बैठक २८ मंंसिरका लागि सारिएको छ । तर, उनले उक्त बैठकमा पनि सहभागी नहुने संकेत गरिसकेका छन् ।

दुई नेताबीच आजै टेलिफोन संवाद भई सहमतिका लागि एक अर्कालाई ब्याक बनाउने प्रयास भएपनि सफल नभएको बुझिएको छ । ओलीले प्रचण्डको लिखित प्रस्ताव निशर्त फिर्ता हुनुपर्ने भनेपछि प्रचण्डले पनि कुनै हालतमा फिर्ता नगर्ने जवाफ दिएको बुझिएको छ ।

ओलीले प्रचण्डको प्रस्तावलाई पार्टीलाई विभाजनको डिलमा पुर्याउने सङ्गीन आरोपपत्र भनेका छन् । उनले त्यसबारे हुने कुनै छलफलमा सहभागी नहुने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्