Logo

ओली र प्रचण्डमध्ये कोसँग कति शक्ति



काठमाडौं, २२ मंसिर । शान्ति सम्झौता हुँदा गिरिजाप्रसाद कोइरालाले सरकारका तर्फबाट र पुष्पकमल दाहाल प्रचण्डले विद्रोही नेकपा माओवादीका तर्फबाट हस्ताक्षर गर्दा तत्कालिन नेकपा एमालेका नेता केपी शर्मा ओली पछिल्लो हारमा बस्ने साक्षीमात्र थिए । त्यतिबेला प्रचण्डको क्रेज र उनीप्रतिको आशा यस्तो थियो कि उनी धेरै नेपालीका लागि जे छोयो त्यही सुन हुने ‘मिडास राजा’ नै मानिन्थे । प्रचण्डले देशमा शासनसत्ता लिएमा कायापलट हुने ठान्थे ।

प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पनि बने । तर, सेनापति प्रकरणले उनको बलियो सत्ता गल्र्याम्म ढल्यो । त्यसपछि उनलाई सत्तामा फेरि पुग्न निकै कसरत गर्नुपरेको थियो । प्रचण्ड दुईपटक देशको प्रधानमन्त्री भइसकेका छन् । उनी गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतामा देशलाई लाने प्रमुख राजनीतिक खेलाडी हुन् । यो राजनीतिक प्रणालीको जस आफूले पाउनुपर्ने र आफू रहुञ्जेल शक्तिमा रहनुपर्ने कार्यशैली देखाउँछन् ।

यसको ठिक विपरित केपी शर्मा ओली गणतन्त्रको नारा लाग्दा ‘वयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र यो आन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु एकै हो’ भन्थे । उनले संघीयताको नारा लाग्दा जातीयताका आधारमा देशमा विभाजन र झगडा गराउन खोजेको भन्दै प्रचण्डको कटु आलोचना गरेका थिए । ओली जहिले पनि प्रचण्डको आलोचक नै बने । सेनापति प्रकरणमा प्रचण्डले राजीनामा दिंदा ओलीले भनेका थिए, ‘प्रचण्डरुपी बेलुन कटवालरुपी छेस्कोले घोच्दा प्याट्ट फुट्यो ।’ ओलीले जति तत्कालिन नेकपा माओवादीको आलोचना गिरिजाप्रसाद कोइरालाले पनि गरेका थिएनन् ।

प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीलाई हिंसात्मक शक्ति भन्दै उनले सधै आलोचना गरिरहे । त्यसैले ओली बारम्बार तत्कालिन माओवादीको तारोमा परे । तर, तिनै ओलीले प्रचण्डलाई सहमतिमा ल्याएर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । यसले धेरैलाई आश्चर्यमा पारिदियो ।

आफ्नो कटु आलोचक ओलीसँग प्रचण्डले केही आशा र महत्वाकांक्षामा एकताको हात मिलाएका थिए । उनले राजनीतिक लेनदेन र आलोपालो प्रधानमन्त्रीको सहमति पनि गरेका थिए । तर, ओलीले प्रचण्डलाई सत्ताबाट टाढा बनाए । कुनैबेला आफू अगाडि बस्दा पछाडिको लहरमा बस्ने ओली एकाएक राजनीतिको अग्रपंक्तिमा पुगेर आफैलाई पछि पारेपछि प्रचण्डमा छटपटाहट देखियो । अहिले नेकपाभित्रको विवादको एउटा कारण त्यो पनि हो ।

विगतमा गणतन्त्र र संघीयताको नारा लाग्दा व्यङ्ग्य र उपहार गर्ने ओली यही शासन प्रणालीमा शक्तिशाली प्रधानमन्त्री बने । उनी नेपालको इतिहासमा दुई तिहाईको निर्वाचित प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति बने । पार्टी र सरकारमा एकछत्र प्रभाव बनाएर ओलीले आफूलाई शक्तिशाली बनाए । दुईपटक सत्ताबाट हटाउने प्रचण्डको प्रयासलाई विफल पारिदिए ।

अहिले ओलीसँग नेकपाभित्र आफूसहित चारजना सचिवालय सदस्य साथमा छन् । यो कुल ९ जना सचिवालयमध्ये अल्पमत भएपनि ४५ प्रतिशतको अवस्था हो । स्थायी कमिटीमा ओलीसँग ३३ प्रतिशत संख्या छ । केन्द्रीय कमिटीमा पनि ३० प्रतिशत संख्या छ । पार्टी कमिटीमा ओली अल्पमतमा छन् । उनले सबै कमिटीलाई अन्तरिम भन्दै सहमतिबाट चल्नुपर्ने तर्क गर्दै आएका छन् ।

संसदीय दलमा ओलीले बहुमत दाबी गर्दै आएका छन् । पूर्व एमालेका अधिकांश सांसद ओलीको साथमा छन् । केही पूर्व माओवादीलाई पनि ओलीले साथमा लिन सकेका छन् । ओली पक्षले संसदीय दलमा बहुमत दाबी गरेपनि त्यो अवस्था भने छैन ।

ओलीलाई कर्मचारीतन्त्रले साथ दिदै आएको देखिन्छ । उनले कर्मचारीलाई बढी अवसर दिएका छन् । गर्भनर रहिरहेका गैरराजनीतिक व्यक्ति डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए । राजदूतमा पनि पूर्व कर्मचारीलाई अवसर दिएका छन् । सुरक्षा निकाय पनि ओलीलाई साथ दिइरहेको छ । उनी प्रधानमन्त्री हुँदा कहिलेपनि कर्मचारी र सुरक्षा प्रमुख चिढिएका छैनन् । सेना र प्रहरीमा खेल्ने काम उनले गरेका छैनन् । त्यसैले तिनका प्रमुखहरु ओलीप्रति विश्वस्त देखिन्छन् ।

न्यायपालिकामा पनि ओली समन्वय गरेरै काम गरिरहेका छन् । बरु प्रचण्डले राजनीतिक प्रतिवेदनमा अदालतमाथि प्रश्न उठाएपछि ओलीले त्यसमाथि कडा प्रश्न उठाए । कतिपयले ओलीले १५ वर्षसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशहरु आफूले विश्वास गरेकाहरु नै रहने गरी मार्ग सुनिश्चित गरेको बताउँदै आएका छन् । राज्यको महत्वपूर्ण निकायमा ओलीले पकड बलियो बनाएका छन् । प्रधानमन्त्री कार्यालय मातहतमा राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय शतर्कता केन्द्र, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण जस्ता निकायलाई ल्याएर आली झन् शक्तिशाली बने ।

प्रचण्ड पनि दुईपटक प्रधानमन्त्री भइसकेका हुन् । दश वर्ष जनयुद्ध लडेर शक्तिमा आएका उनी हिम्मतिला नेता मानिन्छन् । राजनीतिमा स्टन्ट मार्न उनले जति कसैले सकेका छैनन् । नेपालको इतिहासको कोर्स नै बदल्ने श्रेय प्रचण्डलाई जान्छ । दुई सय ५० वर्ष लामो राजसंस्थाको अन्त गरी एकात्मक राज्य प्रणालीबाट संघीयता र हिन्दुराष्ट्र अन्त गरी धर्मनीरपेक्षसहितको राज्य प्रणाली स्थापित गर्न उनकै मुख्य भूमिका रहेको छ । प्रचण्ड त्यसैले पनि यो शासन प्रणलीको एकल जस लिदै शासनमा हावी भइरहन चाहन्छन् ।

प्रचण्डसँग अझै पनि लडाकु स्वभावका नेता कार्यकर्ता छन् । नेकपाभित्र सचिवालयमा उनीसहित दुईजना मात्र साथमा छन् । अर्को पक्षसँग मिलेर जाँदा मात्र उनी ओलीइतर समूहलाई अल्पमतमा पार्न सफल भएका हुन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या पूर्व माओवादीलाई थियो । तर, तीमध्ये कतिपयले गुट परिवर्तन गरिसकेका छन् । तथापि, प्रचण्डसँग स्थायी र केन्द्रीय कमिटीमा गरेर ३५ प्रतिशत शक्ति भने अझै छ । संसदीय दलमा भने प्रचण्डसँग अधिकतम ३० प्रतिशत मात्र रहेको बताइन्छ । त्यसमा पनि कतिपयले गुट परिवर्तन गरिसकेका छन् ।

प्रचण्डको कर्मचारीतन्त्रमा उनको पकड कमजोर छ । नेपालको राजनीतिमा भने उनी सबैभन्दा चर्चित नेता हुन् । राज्यको महत्वपूर्ण निकायमा प्रचण्डको पकड ओलीको तुलनामा कमजोर छ । तर, राजनीतिक कार्ड हानेर उनी बाजी मार्न खप्पिस छन् । नेकपा एमालेसँगको एकीकरणमा पनि उनले ठुलो अस्त्र फयाँकेका थिए । सुर्य चिन्ह र कम्युनिस्ट पार्टी कब्जा गर्ने रणनीति थियो । तर, ओलीको चलाख खेलले उनलाई अलमलाइरह्यो ।

ओली र प्रचण्डमा शक्तिका दृष्टिले अहिले ओली बलिया देखिन्छन् । तर, राजनीतिक अस्त्रले कुन बेला कस्लाई कुन किनारमा पुर्याउने हो ठेगान हुँदैन । ओली प्रचण्डले मुख्य भुमिका निभाएर आएको राजनीतिक प्रणालीमा शक्तिशाली बनेका छन् । प्रचण्ड भने यो प्रणालीको जस आफै लिएर शक्तिशाली भइरहन चाहन्छन् । यसकारण पनि दुईबीच टकराव बढ्दै गएको छ । दुईबीचको टकरावले अर्को कुनै पात्र शक्तिशाली बन्ने या यो प्रणाली नै धरापमा पर्न सक्ने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्