सचिना बानियाँ: डा. कमरान अन्सारी, कोरोना भाइरस संक्रमित भई अति जटिल अवस्थामा पुगेका विरामीको उपचारमा खटिने अग्रपंक्तिका चिकित्सकमध्येका एक हुन् । नेपाल मेडिकल कलेज, अत्तरखेलको कोभिड भ्यान्टिलेटर र आइसियू वार्डको बाहिर भेटिंदा उनी मास्क, पञ्जा र चिकित्सकको सामान्य पोशाकमा थिए । लाग्थ्यो उनी आगोमा फाल हालेर फसेकाको उद्धार गरिरहेका छन् । आफ्नै जीवनलाई जोखिममा पार्न पछि परेका छैनन् । भन्छन्, ‘अब त कोभिडमाथि सबै मिलेर विजय प्राप्त गर्नैपर्छ ।’
उनी सधै जस्तो अस्पतालको कोभिड भ्यान्टिलेटर वार्डमा खटिएको भेटिन्छन् । चौबिसै घन्टा विरामीलाई निगरानीमा राख्नुपर्ने भेन्टिलेटर र आइसियू त्यो माथि महामारी बनेको कारोनाको जोखिममा परेका विरामी राखिएको वार्ड । तैपनि कमरान आत्तिएका छैनन्, थाकेका छैनन् । उनी भन्छन्, विरामीको जीवनरक्षा कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेर काम गर्दा गर्व लाग्छ । युद्धको बहादुर सिपाही जसरी अग्रपंक्तिमा खटिएर बहादुरी प्रदर्शन गरिरहेछन् कमरान ।
कमरान नेपाल मेडिकल कलेजको कोभिड भ्यान्टिलेटर वार्डमा खटिएको तीन महिना हुनलागेको छ । उनी भन्छन्, विरामीको अवस्था अति चिन्ताजनक भएपछि भेन्टिलेटरमा राख्ने हो, त्यसैले जीवनरक्षा चुनौतीपूर्ण हुन्छ नै । चुनौतीलाई पार लगाउँदा निकै आनन्द आएको अनुभव सुनाउँछन् उनी । भन्छन्, हाम्रो कोभिड भेन्टिलेटर वार्डको टिमले जीवनको खतरा बढेर भेन्टिलेटरमा राख्नुपरेका विरामीको सफल उपचार गर्न सकेका छौं । उनले नेपाल मेडिकल कलेजको भ्यान्टिलेटर वार्डको टिमको नेतृत्व देखि सिंगो टिम कामप्रति दत्तचित्त भएकाले एकपछि अर्को सफलता बढिरहेको सुनाए । उनले यो टिमसँग काम गर्दा धेरै सिक्ने र काममा खटिने तरिका बुझेको बताए ।
कोभिड–१९ को उपचारमा अहोरात्र खटिएका डाक्टर अन्सारीका अनुसार धेरै उमेर भएका, पहिले देखि नै निमोनिया भएका, हाइपरटेन्सन, डायबेटिज भएका बिरामीलाई कठिन समयमा भेन्टिलेटरमा राख्नु पर्ने हुनसक्छ । उनले जटिल अवस्थामा मात्र भेन्टिलेटरमा राखिने बताए । डा. अन्सारीले भेन्टिलेटरमा राख्दा धेरै चुनौती हुने भएकाले राख्नैपर्ने अनिवार्य भएमात्र राखिने सुनाए । बिरामीको श्वास प्रश्वासको जोखिम उत्कर्षमा पुगेपछि भ्यान्टिलेटरमा राखिने बताए ।
अन्सारीका अनुसार कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सकहरु अति नै जोखिममा काम गरेको सुनाउँछन् । तर, यसलाई कर्तव्य सम्झेर मानिसको जीवनरक्षाका लागि खटिइरहने बताउँछन् । जोखिममा काम गरेकाले परिवारबाट टाढा रहेर एक्लै बसेको सुनाउँछन् । भन्छन्, मैंले परिवारलाई नभेटेको महिनौं भइसक्यो । परिवारले बचेर काम गर्ने सल्लाह दिने गरेको र इष्टमित्रबाट हौसला आइरहेको सुनाए ।
बिरामीलाई २४ घन्टा उपचारमा खटिएर जति सक्दो बचाउन आफ्नो जीवनसमेत दाउमा राखेको सुनाए । उनले भने, ‘एमबीबीएस पढ्दा नै बिरामीलाई पहिलो प्राथमिकतामा राख्ने सपथ खाएका हौ ।’ उनले बिरामीको उपचार सफल बनाउन सक्दा गर्व लाग्ने र मन पनि खुशी हुने जानकारी दिए ।
कमरान चिकित्सा पेशालाई सेवाको पेशा भन्दै पृथक आनन्द दिने गरेको अनुभव सुनाउँछन् । उनी भन्छन्,‘मलाई मेरो पेशाले इज्जत र सम्मान दिएको छ ।’ जस्तोसुकै जोखिम मोलेर पनि महामारीको लडाईंमा अग्रिम मोर्चामा रहिरहने दृढता व्यक्त गर्छन् ।
कोरोना भाइरसको जोखिमबाट बच्न सबैलाई आग्रह गर्छन् । सबैलाई स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्छन् । चीसो बढेकाले निमोनियाको खतरा हुने भन्दै वृद्धवृद्धा र बालबालिकालाई जोगाउनुपर्नेमा जोड दिन्छन् । सबै मिलेर कोरोनाको महामारीविरुद्धको लडाईं जित्नुपर्ने भएकाले सबैले आफ्नो कर्तव्य बुझेर निभाउनुपर्ने उनको सुझाव छ ।