Logo

राजावादी विदेशीबाट परिचालन भएको आरोप लगाउँदै अनेरास्ववियु नेता मंगल थापाले भनेः चिहानमा आराधना गर्दैमा राजतन्त्र फर्कदैन



काठमाडौं, मंसिर २२ । अनेरास्ववियुका नेता मंगल थापाले राजतन्त्र चिहानमा जलाएर बगाईसकेकोले नफर्कने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै आज उनले राजतन्त्रको चिहानमा आराधना भइरहेको भन्दै फर्कने सपना नदेख्ने भने ।

‘राजतन्त्र चिहानमा जलाएर बगाइसकेकाले फर्कदैन,’ अनेरास्ववियु नेता मंगल थापाले भने,’ कसैले राजतन्त्र फर्काउने सपना देख्छ भने त्यो कहिले सफल हुनेछैन ।’ पछिल्लो समय देशभर चर्किरहेको राजवादीको आन्दोलन विदेशी डलरबाट परिचालित भएको भन्दै कुनै हालतमा सफल हुन नदिइने बताए । उनले आर्यघाटमा जलाईसकेको राजतन्त्र एकादेशको कथा भैसकेकाले राजावादीहरुले पुनः राजासहितको शासनको कल्पना गर्नु लज्जास्पद भएको धारणा राखे । थापाले गणतन्त्र र धर्म निरपेक्षतालाई खतरामा पार्न खोज्नेहरु विदेशी डलरबाट प्रभावित रहेकाले कुनैपनि हालतमा सफल नहुने दाबी गरे ।

जनताले विकास र समृद्वि खोजिरहेको बताउँदै थापाले रातारात देशलाई सिरिया बनाउन खोजेको समेत आरोप लगाएका छन् । राजतन्त्र फकार्उन अभियान चलाएकाहरु प्रति लक्षित गर्दै थापाले राजतन्त्र ल्याउछु भनेर कल्पना गर्नेहरुलाई दिउँसै सपना नदेख्न समेत आग्रह गरे । उनले थपे,‘दुई सय बर्षसम्म कानमा तेल हालेर सुतेको राजतन्त्रलाई बाँसको लौरोले ठोसेर आर्यघाटबाट बाग्मतीमा बगाईसकेकाले पृथ्वी उल्टिए पनि राजतन्त्र नफर्कनेमा सारा जनता जानकार छन् ।’

जनताको संघर्षले नै राजतन्त्रलाई बगाएको स्मरण गर्दै उनले तिनै शोषण, अन्याय, दमन र अधिकारबाट बेचिएका नागरिकले राजालाई साथ नदिनेमा शंका नरहेको स्पष्ट पारे । पछिल्लो समय नेकपा भित्र चलिरहेको आन्तरिक विवादमा समेत पार्टी नेताहरु मिलेरै अघि बढ्नुपर्ने उनको धारणा छ । हाल देशलाई सहमति, सहकार्य र एकतामार्फत आर्थिक विकासमो आवश्यकता रहेको बताउँदै उनले नेकपा सरकारमार्फत मात्रै देशको विकास र समृद्धि हुने समेत दाबी गरेका छन् । पार्टी भित्रको आन्तिरिक विवादबाट समेत राजावादीहरुले फाईदा उठाउँन खोजेको बताउँदै थापाले मुलुकमा भएका प्रगति र जनताका सुनिश्चित अधिकारलाई भंग गर्न खोज्नेहरुप्रति पार्टी सजग हुनुपर्ने बताए ।

‘भिजन र विचार नभएका राजावादीहरु नेकपालाई कमजोर पार्न खोज्दै मात्रै छैनन्, दलित, जनजाती, महिलावर्गलाई पुनः पिडामा धकेल्न खोज्दैछन्,’ उनले भने, ‘जनताले शासन व्यवस्था मात्रै परिवर्तन खोज्दैनन्, लिम्पियाधुरा, कालापानी, लिपुलेक बेच्नेहरुलाई समेत माथी उठ्न दिने छैनन् ।’

आन्दोलनले कुनै निष्कर्ष नदिने र प्रतिगमनलाई साथ दिन नसक्ने बताउँदै थापाले राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन गर्न खोज्नेहरु धमिलो पानीमा माछा मार्न हौसिरहेको बताए । देशमा जारी संघीयता, स्थिर सरकार, विकासका विरुद्ध भईरहेको गतिविधिमा जनताको साथ र सर्मथन नहुनेमा समेत ढुक्क हुन उनको आग्रह छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot