Logo

मुख्य योजनाकार महताब पक्राउ



रौतहट, मंसिर २३ । ‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। उनी पुर्पक्षका लागि जेलमा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद महम्मद आफताब आलमका भाइ हुन् ।

प्रहरीले महताब आलमलाई बडकी बंकुल क्षेत्रबाट पक्राउ गरेको बताए पनि आलम लामो समयदेखि भारत बिहारको मोतिहारीमा बस्दै आएको र त्यहीको प्रहरीको सहयोगमा मोतिहारीबाटै पक्राउ गरिएको जनाइएको छ। उनकै नेतृत्वमा राजपुरमा बम बनाउने काम भइरहेको थियो। संविधानसभाको निर्वाचनमा धाँधली गरी बुथ कब्जा गर्न र महम्मद आफताब आलमलाई जसरी पनि चुनाव जिताउन उनले नेपाल तथा भारतको विभिन्न ठाउँबाट अपराध गर्न सक्ने र बम बनाउन जान्ने मानिस खोजेर ल्याएका थिए। उनले आफ्नै नेतृत्वमा आवश्यक सामान जुटाई बम बनाउँदै आएका थिए।

२०६४ चैत २८ गते भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन साँझ ६ बजेतिर बम बनाइरहेको घरमा विस्फोट भएको थियो। तत्कालीन राजपुर फरहदवा गाविस–४ हालको राजपुर नगरपालिका–४ स्थित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका चर्चित नेता सेख इद्रिशको गोठघरमा विस्फोटक पदार्थ राखी बम बनाउने क्रममा विस्फोट भएको थियो। विस्फोट परी केही मानिसको घटनास्थलमै मृत्यु भएको थियो भने केही घाइते भएका थिए। महताब आलमले रौतहटको सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूतसहित घाइते १६ जनालाई ट्याक्टरमा हाली नजिकैको इँटाभट्टामा पुर्‍याई जिउँदै जलाएका थिए। घटनामा मृत्यु भएका तीनजनालाई पनि आलमले इँटा उद्योगमा जलाउन लगाएका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्