Logo

रोकिएन ‘बोक्सी’ आरोपमा यातना



सप्तरी, मंसिर २३ । जिल्लाको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ। कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ। निर्मम कुटाइबाट उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।

छिमेकी रहेकी साह थरकी एक महिलाले सुमिन्द्राले ‘बोक्सी’ लगाएकाले आफ्नो उन्नति नभएको आरोप लगाउँदै आएकी थिइन्। उक्त आरोप सहन नसकेर आफूले ‘बोक्सी’ लगाएको प्रमाण माग्दा ती महिलाले आफन्त बोलाएर कुटपिट गरेको सुमिन्द्राले बताइन्। कपाल लुछेर भुइँमा लडाएपछि आफूमाथि लात्तीमुक्का प्रहार भएको सुमिन्द्राले बताइन्। कुटपिटमा संलग्नको यकिन बयान गर्न नसके पनि सबै परिचित नै रहेको उनले जानकारी दिइन्। सुमिन्द्राले कुटपिट गर्नेहरूको हुलियासमेत बताइसकेको प्रहरीले जनाएको छ।

कात्तिकको दोस्रो साता सिरहाको कर्जन्हा नगरपालिका–३ की ७५ वर्षीया वृद्धा सुदामादेवी साह आफ्नै छोराबाट कुटिइन्। ती वृद्धा छोराबाट कुटिइरहँदा टोलछिमेकका कोही चुइँक्क बोलेनन्। दुई छोराबाट छुट्टिएपछि सुदामादेवी एक्लै बस्दै आएकी थिइन्। उनका कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा भएको घाउ लामो समयदेखि निको भएको थिएन। रामऔतारले बुहारीलाई बोक्सी लगाई घाउ निको हुन नदिएको आरोप आफ्नै आमामाथि लगाउँदै आएका थिए। छोराले नै कुटपिट गरी घाँटी बटारिदिएपछि उपचारकै क्रममा सुदामादेवीको मृत्यु भएको थियो। बोक्सीको नजर झर्छ भन्दै रामऔतारले आमालाई दिसा खुवाउने प्रयाससमेत गरेका थिए। तर घटनाको जानकारी पाएलगत्तै प्रहरी पुगेकाले त्यसो गर्न भने नभ्याएको छिमेकीले बताए।

वडाध्यक्ष कपलेश्वर यादवले प्रहरीलाई खबर गरेपछि घाइते वृद्धालाई उद्धार गरी उपचारका लागि जनकपुर पुर्‍याइएको थियो। जनकपुरका चिकित्सकले सुदामाको घाँटीको हाड मोडिएकाले सुधार नहुने भन्दै घर पठाइदिए। सास लिन गाह्रो भएपछि जिल्ला अस्पताल सिरहा पुर्‍याएपछि उनको मृत्यु भएको थियो।

व्यवस्था परिवर्तनसँगै यतिखेर बहुमतको निर्वाचित सरकार छ। स्थानीय सरकारअन्तर्गत न्यायिक समिति छ। बोक्सीको आरोप कसुर र सजाय ऐन, २०७२ ले कारबाहीका लागि कानुनी बाटो खोलिदिएको छ। तर पनि यस्ता घटनाको शृंखला नरोकिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्