Logo

स्थानीयको बरदान बन्दै सिँचाइ आयोजना



कर्णाली, २३ मंसिर । कर्णाली नदीको उर्लंदो बाढीले निम्त्याउने बितण्डाले बर्खायाममा त्रासमा बस्दै आएका टीकापुर नगरपालिका–५ का विकास विश्वकर्माको परिवार अब भने ढुक्कसँग घरमा बस्नसक्ने भएको छ ।

कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कर्णाली नदीको तटीय क्षेत्रमा तटबन्ध गरिएपछि उहाँको परिवारलाई शान्तिसँग बस्ने वातावरण मिलेको हो ।

“कर्णालीको उर्लंदो बाढीका कारण नदी तटीय क्षेत्रका बासिन्दा बर्सेनी विस्थापित हुने या त्रासमा बस्नुपर्ने अवस्था थियो, अब भने शान्तिसँग बस्न सक्ने भएका छौँ, सिँचाइ आयोजनाले गरेको तटबन्ध हाम्रा लागि बरदान साबित भएको छ, अब बर्सातको भेलसँगै डराउनुपर्ने अवस्था छैन”, विश्वकर्माले भने।

बाढीको जोखिमले विगतमा विस्थापित भएर बसाइँ सरेका कतिपय अन्य परिवार पनि अहिले नदी तटबन्ध कार्यसँगै पुरानै ठाउँमा फर्किन थालेको विश्वकर्माले बताए । कटानको जोखिमका कारण विगतमा विस्थापित हुन पुगेका धेरै परिवार भने अझै पनि शिविरमा बस्दै आएका छन् । नदी तटबन्ध कार्यले स्थानीयवासीमा खुशी छाउँदा बर्खायाममा कर्णालीको कटानको जोखिम भने अझै पूर्णरुपमा हटिसकेको छैन ।

लम्कीचुहा नगरपालिकाका वडाध्यक्ष माया बिष्टले सिँचाइ आयोजनाअन्तर्गत रोरा नदीमा भएको तटबन्धन कार्यले कटानको जोखिममा रहेको ठूलो क्षेत्रफलको जग्गा जोगिएर अहिले स्थानीयवासी आफ्नो जग्गा कटान हुने समस्याबाट मुक्त भएको अनुभव सुनाउछन ।

सिँचाइ हुने क्षेत्रको जग्गा सुरक्षाका लागि सिँचाइ आयोजनाअन्तर्गत मुख्य नदी कर्णालीका साथै यो नदीबाट छुट्टिएर आउने, रोरा, चोरी, चरेला पथरैया, नदीको तटीय क्षेत्रमा तटबन्धन कार्य भइरहेको छ ।

हालसम्म २१ किलोमिटरभन्दा बढी भागमा नदीको तटबन्धनको काम पूरा भएकामा बाँकी भागमा पनि तटबन्ध निर्माणको काम भइरहेको छ । सिँञ्चित हुने क्षेत्रमा नदी तटबन्धनका अतिरिक्त सडक कालोपत्र, पुल तथा पुलेसा निर्माणको कामसमेत भइरहेको छ ।

आयोजनाका सूचना अधिकारी पेमा लासिवाले कर्णाली नदीको पश्चिमी किनारतर्फको कैलालीको सबै भू–भागमा नदी तटबन्धन कार्य गर्न मन्त्रालयमा प्रस्ताव पठाउने तयारी भइरहेको जानकारी दिए ।

लासिवाले भने, “कर्णालीमा बर्खायाममा आउने बाढीबाट टीकापुर बजारसहितको आसपासको क्षेत्र अझै पनि जोखिममा रहेकाले यो क्षेत्रको सबै भागमा तटबन्धन गर्न जरुरी भइसकेको छ ।”

भौतिक प्रगति

जिल्लाको पूर्वी सीमा कर्णाली नदी मुहान भएको यो आयोजनाको निर्माण कार्यको भौतिक प्रगति अहिलेसम्म झण्डै ४८ प्रतिशत छ । चिसापानीस्थित मुहान ९इन्टेक० बाट पश्चिमतर्फ जाने ८.८ किलोमिटर लामो मूल नहरको निर्माणको काम पूरा भइसकेको छ । पानी नियन्त्रण गर्न मुहानमा निर्माण पूरा भएका आठओटा ढोकाबाट नहरमा पानी खसाल्ने व्यवस्थाका लागि गेट उचाल्ने र बन्द गर्ने उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । मूल नहरको दक्षिणतर्फको फिडर नहरमध्ये दश दशमलव ५० किलोमिटर लामो फिडर नहर तथा लम्की विस्तार नहरतर्फको १४ दशमलव सात किलोमिटर लामो नहरमध्ये छ किलोमिटर लामो नहर निर्माण पूरा भएको छ ।

लम्की विस्तारतर्फको बाँकी भागमा मानव बस्ती रहेकाले सो क्षेत्रमा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ । यो क्षेत्रमा नहर निर्माणका लागि रेखाङ्कन भएको ठाउँमा कूल ३९ हेक्टर जग्गाको मुआब्जा दिनुपर्नेमा हालसम्म ३६ हेक्टर जग्गाको मुआब्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिसकिएको छ । ऐलानी जग्गामा बसोबास गरेकालाई राहत रकम उपलब्ध गराउन भइरहेको ढिलाइले यो क्षेत्रको निर्माणको काममा पनि ढिलाइ हुने देखिएको छ । आयोजनाअन्तर्गतका रानी, जमरा र कुलरिया फिडर नहरका तीनओटै इन्टेक निर्माण पनि पूरा भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्