Logo

स्टार्टअपलाई नीति बनाउँदै सरकार



काठमाडौं, मंसिर २४ । स्टार्टअप (नवप्रवर्तन शुरुआती व्यवसाय)लाई प्रोत्साहनका साथै छूट तथा सहुलियत दिने विषयमा नेपालमा कुनै नीति नभएका बेला सरकारले पहिलोपटक ‘स्टार्टअप पोलिसी’को मस्यौदा बनाउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रवर्तन शुरुआती व्यवसायलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्नेगरी मस्यौदा बनाउन गृहकार्य शुरू गरेको हो ।

नवप्रवर्तन शुरुआती व्यवसायलाई कसरी प्रोत्साहन गर्न सकिन्छ, के कस्ता सुविधा दिँदा स्टार्टअप व्यवसायलाई सघाउ पुग्छ र अन्तरराष्ट्रिय अभ्यास के छ भन्ने विषयलाई लिएर मन्त्रालयले सम्बन्धित व्यवसायी तथा स्टेक होल्डरसँग छलफल शुरू गरेको हो । भर्खरै व्यवसाय शुरू गरेका, नयाँ प्रविधि तथा उद्यममा आधारित भएर कम्पनी र उद्यम सञ्चालन गरेकाहरूलाई प्रोत्साहन गर्न, छूट, सहुलियत तथा सुविधा दिन अहिलेसम्म नेपालमा कुनै नीति नभएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

‘स्टार्टअप व्यवसायलाई नै केन्द्रित गरेर पहिलोपटक नीति बनाउन मस्यौदा बनाउन थालिएको छ,’ रेग्मीले भने, ‘यसका लागि भारत, चीन, बंगलादेश लगायत देशहरूमा भएका अभ्यासलाई पनि अध्ययन गरिएको र विज्ञसँग पनि छलफल गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्