Logo

‘कोही कतै गाडिएको आशंका भएमा खबर गर्नू’



काठमाडौं, मंसिर २५ । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित बेपत्ता आयोगको टोली द्वन्द्वकालमा हराएका व्यक्ति गाडिएको अवस्थामा फेला परेमा खबर गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका पीडित भनिएकालाई आह्वान गर्दै काठमाडौं फर्किएको छ ।

आयोगका सदस्य वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले ती दुई प्रदेशबाट द्वन्द्वकालमा लगभग ३ सय ७५ जति हराएका भनी उजुरी परेको जानकारी दिँदै तीमध्ये कसैलाई गाडिएको फेला परेमा खबर गर्न आह्वान गरिएको बताएका छन् ।

आयोगको चारवटा टोली आठ जिल्लामा विस्तृत अनुसन्धान गरेर काठमाडौं फर्किएको छ । कालीकोट तथा पूर्वी रुकुममा आयोगका सदस्य भण्डारीको नेतृत्वको टोली गएको थियो । गंगाधर अधिकारीको नेतृत्वको टोलीले जुम्ला र पश्चिम रुकुममा विस्तृत अनुसन्धान गरेको थियो ।

यसै गरी आयोगका अर्का सदस्य सुनीलरञ्जन सिंहको टोली मुगु र दार्चुला जिल्ला गई फर्केको छ । आयोगका सदस्य संगीता थापाको टोली बाजुरा र बझाङ गएको थियो ।

आयोगका सदस्य भण्डारीले भन्नुभयो– ‘यी चारवटै टोली काठमाडौं फर्किएको छ । सम्बन्धित क्षेत्रबाट परेको उजुरीमा विस्तृत अध्ययन गरी हामी फर्किएका छौं । काठमाडौंमा अब थप अनुसन्धान गर्छौं ।’

विस्तृत अनुसन्धान गर्दा उजुरी दिने तथा साक्षी भए उनीहरुसँग थप कुरा बुझ्ने कार्य हुने बताइएको छ । सो कार्यमा बेपत्ता भएका व्यक्ति राज्य पक्ष वा विद्रोही पक्षमध्ये कसले बेपत्ता बनाएको हो भन्नेबारेमा पनि सोधपुछ हुने उल्लेख गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा लगभग ३ सय ७५ जति हराएका भनी उजुरी परेको जानकारी दिँदै आयोगका सदस्य भण्डारीले त्यसमध्ये कोही कतै गाडिएको भन्ने आशंका भएमा आफूहरुलाई खबर गर्न भनेको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्