Logo

ओलीद्वारा माधव नेपाललाई एक्ल्याउने प्रयास



काठमाडौं, २५ मंसिर । पूर्व एमालेलाई एकजुट बनाउने प्रयास सफल हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै नै राजनीतिक सहमतिको प्रयासमा जुटेका छन् । उनले आफै प्रत्यक्ष भेटेर र विश्वासपात्रलाई खुमलटार पठाएर प्रचण्डसँग सहमतिको प्रयास थालेका हुन् ।

नेकपाभित्र विवाद बढेर दुर्घटनाको अवस्था बनेपछि ओलीले बुधबार अर्का अध्यक्ष प्रचण्डसँग एक घन्टा बालुवाटारमा कुराकानी गरेका थिए । भेटमा उनले राजनीतिक लेनदेनको विषय समेत राखेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले महाधिवेशनपछि अध्यक्ष नबन्ने र प्रचण्डलाई सघाउने प्रस्ताव राखेका थिए । उनले यो कार्यकालपछि प्रधानमन्त्री पनि नबन्ने भन्दै प्रचण्डसँग सहमतिको प्रयास गरेका थिए ।

ओलीले पूर्व एमालेका माधवकुमार नेपाल र बामदेव गौतमसँग सहमतिको पटक पटक प्रयास गरेपनि सफल भएन् । उनले नेपाल र गौतम दुवैसँग राजनीतिक लेनदेनको विषय राखेपनि नेताहरु आश्वस्त हुन सकेनन् । नेपाललाई भावी अध्यक्ष र प्रधानमन्त्री बन्न सहयोग गर्ने समेत भने । गौतमलाई सरकारमा उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय देखि चुनावी सरकारको प्रधानमन्त्रीको प्रस्ताव समेत गरे । तर, गौतम पटक पटक धोका पाएको भन्दै यसपटक टसमस भएनन् ।

यसपटक ओलीले प्रचण्डसँग मिलेर माधव नेपाललाई एक्ल्याउने प्रयास थालेका छन् । उनले प्रचण्डसँगै सहमति गरेर अगाडि बढ्ने गरी पहल थालेका छन् । त्यसका लागि विगतको संवादहीनतामा आइसब्रेक भइसकेको छ ।

पूर्व एमाले समूह नै टाढिएपछि ओलीले पूर्व माओवादीसँग नै राजनीतिक सहमति बनाएर अगाडि बढ्न खोजेका छन् । त्यसका लागि उनले प्रचण्डसँग राजनीतिक लेनदनेको विषय राखिसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्