Logo

प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा वृद्धि



बाग्लुङ, २५ मंसिर । गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरवृद्धि गरिएको छ ।अस्पतालको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गरे। यसअघि नगरसभाले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो । सो विषय चालु आवको नीति तथा कार्यक्रममासमेत समावेश थियो ।

नगरप्रमुख भरत शर्मा गरैले नगर अस्पतालको योजना कार्यान्वयनमा आएको जानकारी दिए । “अब पूर्वाधार, जनशक्ति र सेवाको स्तर पनि क्रमशः थपिँदै जान्छ”, उनले भने, “अस्पतालमा २५ शय्या पु¥याउने लक्ष्य छ ।” नगर अस्पतालमा स्तरवृद्धि गर्ने निर्णयसँगै थप चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेको गरिएको उनको भनाइ छ ।
अहिले केन्द्रमा आठ शय्या रहेकामा निर्माणाधीन भवन बन्नासाथ शय्याको क्षमता १५ पुग्ने छ । अस्पताल भवन निर्माण अन्तिम चरणमा छ । अहिले पुरानै भवनबाट अस्पताल भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा रुपान्तरण भएसँगै उपचार सेवाको स्तर र पहुँच बढाउनुपर्ने चुनौती थपिएको अस्पतालका प्रमुख चिकित्सक अरुण गौतमले बताए । सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद अस्पतालको सेवा प्रभावकारी बनाउन आफूहरु लागिपरेको उनको भनाइ छ । “छ महिना अघिसम्म मेडिकल अधिकृत म मात्र थिएँ, अहिले दुई जना सेवारत छौँ, प्राथमिक स्वास्थ्य केन्द्र तहमा चाहिने जनशक्तिले बल्ल पूर्णता पाएको छ, अब नगर अस्पताल भइसकेपछि सोहीअनुसार पूर्वाधार, उपकरण, जनशक्ति र सेवा थप्नुपर्छ”, प्रमुख चिकित्सक गौतमले भने ।

उनका अनुसार १५ शय्याको अस्पतालका लागि तीन जना चिकित्सक र २७ जना स्वास्थ्यकर्मी हुनुपर्ने सरकारी मापदण्ड छ । अहिले अस्पतालमा दुई मेडिकल अधिकृत, तीन अनमी, दुई अहेब, एक हेल्थ असिष्टेन्ट, एक ल्याब टेक्निसियन, एक एम्बुलेन्स चालक र तीन कार्यालय सहयोगी कार्यरत छन् । विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थपेर अस्पतालको सेवालाई थप स्तरीय बनाउने नगरपालिकाको योजना छ ।

अस्पतालमा हाल आकस्मिक, भिडियो एक्सरे, बहिरङ्ग, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य बीमा, प्रसूतिलगायतका सेवा उपलब्ध छन् । नयाँ भवन प्रयोगमा आएपछि सेवा प्रवाह थप सहज हुने जनाइएको छ । रु पाँच करोड ४५ लाख ३५ हजारको लागतमा अस्पताल भवन बनिरहेको छ ।

आठ शय्या क्षमताको उक्त भवनमा तला थपेर १५ शय्या पु¥याइने प्रमुख गैरेले बताए । नगरपालिकाको योजनामा भने अस्पताललाई २५ शय्याको बनाउने उल्लेख छ । भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ । बुधबारदेखि नै नगरपालिकामा कोभिड–१९ अस्थायी अस्पतालसमेत सञ्चालनमा आएको छ ।

पाँच शय्याको उक्त अस्पताल आँखा उपचार केन्द्रको भवनबाट सञ्चालित छ । सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल खोल्ने सरकारको योजनाअनुसार सो अस्पताल स्थापना गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्