काठमाडौं, २५ मंसिर । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । सङ्घका पूर्वअध्यक्ष महेन्द्र शेरचनले महासङ्घको ५४औँ वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा वस्तुगत समूहका कार्यकारिणी समितिका सदस्यलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरे।
सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । विप्रेषणले नै मुलुकको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै उनले विप्रेषण भित्र्याउन मुख्य भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीले व्यहोर्नुपरेको कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले झण्डै दुई दशकदेखि आफू वैदेशिक रोजगार व्यवसायीसँगसँगै रहेको र व्यवसायीलाई परेको समस्या समाधान गर्न लागिपरेको बताए। तत्कालीन संविधानसभा सदस्य समेत रहनुभएका शेरचनले निजी क्षेत्रको छाता सङ्गठनका रुपमा रहेको महासङ्घले वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । सङ्घका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उनीहरुको सीप, क्षमता र योग्यताको तथ्याङ्क सङ्कलन गरिनुपर्नेमा जोड दिए । रासस