काठमाडौं, २५ मंसिर । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरुलाई आज भेटेका छन् ।
चौथाइवाले नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएका हुन् । उनले सामाजिक सञ्जालमा पौडेलको निम्तोमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँगको भेटको तस्बिर पनि सार्वजनिक गरेका छन् । पछिल्लो समय भारतबाट सैन्य, गुप्तचरसहितको कर्मचारी तहमा नेपाल भ्रमण भइरहँदा चौथाइवाला नेपाल आएका हुन् ।
चौथाइवालाले प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशको सम्बन्ध र भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी गरेको बुझिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । त्यसैले उनले मोदीको सन्देश समेत लिएर आएको विश्वास गरिएको छ ।
वैज्ञानिक समेत रहेका डा. चौथाइवालेले यसै वर्ष विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । उनी नेपाल भारत सम्बन्धबारे विभिन्न वेविनारमा समेत सहभागी भए ।