Logo

प्रधानमन्त्री ओलीले डाके संवैधानिक परिषदको बैठक, अख्तियारलगायत निकायमा नियुक्तिको तयारी



काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेका छन् । परिषदका अध्यक्ष ओलीले २८ मंसिरको विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायमा ४५ पदाधिकारी रिक्त भएको अवस्थामा प्रधानमन्त्रीले बैठक डाकेका हुन् । यसलाई चासोका साथ हेरिएको अख्तियारमा रिक्त प्रमुख आयुक्त र २ आयुक्तको नियुक्ति अगाडि बढाउने प्रधानमन्त्रीको तयारीका रुपमा हेरिएको छ ।

अख्तियारमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटस्थलाई नियुक्त गर्न खोजिरहेका छन् । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र एकजना आयुक्त आफूले चाहेका व्यक्तिहरुलाई नियुक्त गर्ने अडान लिएका छन् । त्यसमा प्रचण्ड र देउवाको पनि दाबी रहेको छ ।

निर्वाचन आयोगमा दुई आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित ५, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित ५ पद, समावेशी आयोगमा अध्यक्षसहित ४ पद, आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित ५ पद, मधेशी, थारु र मुस्लिम आयोगमा ४ ४ आयुक्त र राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षसहित ५ पद रिक्त छन् । संवैधानिक परिषदमा रहेका र प्रमुख राजनीतिक दलबीच भागवण्डा नमिलदा यी पदपूर्ति हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले ४८ घन्टा अगावै कार्यसूची र बैठकबारे सदस्यहरुलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था अनुसार बैठक बोलाएका हुन् । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । नियुक्तिमा सर्वसम्मतले निर्णय हुन नसके पुनः बैठक डाकेर गर्नुपर्ने हुन्छ ।

परिषदमा नियुक्तिका लागि प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता देउवा, प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सहमतिको आवश्यकता हुन्छ । विशेषत ओली, देउवा र प्रचण्डबीचको सहमति बन्न सके निर्णय कठिन छैन ।



प्रतिक्रिया दिनुहोस्