Logo

भारतबाट गुप्तचर हुँदै सैन्य, कर्मचारी र राजनीतिक तहमा किन भयो भ्रमण ?



काठमाडौं, २५ मंसिर । भारतले नेपालसँगको संवादलाई विभिन्न तहमा बढावा दिएको छ । उसले सबै तहमा भेटघाट र कुराकानीलाई गति दिएको हो । यसबीच भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौलाइवालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा आज दिउँसो पुगेका उनले द्विपक्षीय सम्बन्धबारे कुरा गरेको बुझिएको छ ।

भाजपा विदेश विभाग प्रमुख वैज्ञानिक पनि हुन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । चौथाइवालाले भाजपाको सन्देश मात्र नभई मोदीको सन्देश पनि बोकेर आएको बुझिएको छ । उनले नेपाल मामलामा भारतको चासोबारे समेत कुराकानी गरेको बुझिएको छ । सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणमा आफू आएको चौथाइवालाले ट्वीट गर्दै लेखेका छन् । सीमा समस्यापछि राजनीतिक तहमा यो प्रत्यक्ष भेटघाट हो ।

यसअघि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला तीन दिने नेपाल भ्रमण गरेर फर्किएका छन् । उनले दुई देशबीच थाती रहेको समस्या समाधानबारे महत्वपूर्ण कुराकानी गरेका थिए । कुटनीतिक तहमा श्रृंगलाको भ्रमण अर्थपूर्ण रह्यो । त्यसअघि वाणिज्य सचिव स्तरमा पनि भर्चुअल बैठक भयो । पछिल्लो समय विभिन्न तहमा भारतीय अधिकारीसँग नेपालको वार्ता भइरहेको छ । यसलाई संवाद बढाउने दुई देशको सरकारको कदमका रुपमा हेरिएको छ ।

भारतका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल विशेष विमानबाट नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर फर्किएका थिए । कात्तिक महिनाको त्यो भेट निकै अर्थपूर्ण रह्यो । उनको भेटले तरंग नै ल्यायो ।

गोयलको भ्रमणलगत्तै भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिवसीय नेपाल भ्रमणमा आए । उनले मानार्थ प्रधानसेनापतिको दज्र्यान्ही पनि लिएर फर्किए । सैन्य तहमा सम्बन्ध सुधार्न उनको भ्रमण महत्वपूर्ण सावित भयो ।

यसरी भारतले सबै तह र तप्काबाट संवादलाई बढाएको छ । यसलाई नेपाल मामलामा भारतको विशेष चासोका रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्