Logo

वीरगञ्ज–रक्सौल सीमा खोल्न होटल व्यवसायीको माग



वीरगञ्ज, मंसिर २६ । वीरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग गरेका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरेको भारतसँगको सीमा औपचारिक रूपमा नखोल्दा भारतीय पर्यटक नआएको भन्दै व्यवसायीले सिमाना खोल्न माग गरेका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बिहीवार विज्ञप्ति निकालेर सरकारले विगत ९ महीनादेखि सीमा बन्द गर्दा पर्यटन र सरोकारका होटल व्यवसाय चौपट भएको बताएका छन् । भारतले गत कात्तिक पहिलो हप्तादेखि आफ्नो सिमानाबाट आवागमन खुला गरे पनि नेपालतर्फ खोलिएको छैन ।

सिमाना औपचारिक रूपमा नखुले पनि अनौपचारिक आवागमन भने रोकिएको छैन । सीमा नखोल्दा बेलाबेलामा सुरक्षाकर्मीले अवरोध गर्दैै आएका छन् । यसबाट पर्यटक आउन हिच्किचाएको व्यवसायीको भनाइ छ । मानिसहरूको अनधिकृत आउजाउ भइरहेकाले अब सिमाना बन्द गर्नुको कुनै अर्थ नरहेको र यसले वीरगञ्ज क्षेत्रका होटल व्यवसाय नराम्ररी प्रभावित भएको व्यवसायीको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्