Logo

संसद् अधिवेशन बोलाउन आलटाल



काठमाडौं, मंसिर २६ । लामो समयसम्म संसद् अधिवेशन नहुँदा जनताको आवज सुनाउने ठाउँको रिक्तता छाएको छ। तर संघीय संसद्को अधिवेशन नभएको पाँच महिना बितिसक्दा पनि सरकारले यसबारे कुनै तयारी भने सुरु गरेको छैन। सभामुख अग्निप्रसाद सापकोटाले पनि अधिवेशन बोलाउने कुनै पहल गरेका छैनन्। संघीय संसद् सचिवालयले भने संसद् भवनमा सांसद बस्ने व्यवस्थापनको काम सकिसकेको छ। गत असार १८ गते अन्त्य भएको अधिवेशन मंसिरमा सुरु नहुने भएको छ।

अधिवेशन बोलाउन सरकारले चासो नदिँदै सरकार संसद्बाट भाग्न खोजेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ। ‘कोरोना भाइरस तथा विकास निर्माणमा सरकारले गरेका कामप्रति सांसदले धेरै प्रश्न उठाउने र त्यसको जवाफ दिनसक्ने अवस्थामा सरकारले आफूलाई उभ्याउन सक्छु कि सक्दिन भन्ने कुराको मनोवैज्ञानिक त्रास सरकारमा छ,’ कांग्रेसका एक नेताले भने। उनका अनुसार सरकारले संविधानबमोजिम एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर छ महिनाभन्दा बढी गर्ननहुने भन्ने व्यवस्थामा टेकेर आगामी पुस १७ गतेभित्र बैठक बस्नेगरी अधिवेशन आह्वान गर्ने तयारी गरेको छ।

सरकारको यस्तो तयारी हो भने त्यो मितिलाई अगाडि नै ल्याउनका लागि सभामुख सापकोटाले एकपटक पनि न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् नत प्रधानमन्त्री केपी ओलीसँग नै। उनले सम्बन्धित मन्त्रीलाई पनि बोलाएर छलफल गरेका छैनन्। बरु उनले केही दिनअघि प्रदेश सभाका सभामुखसँगको अन्तरक्रियामा ‘संसद्का समितिहरू बढी सक्रिय हुनुपर्ने र संसद् अधिवेशन नभएको अवस्थामा पनि समितिमा हुने छलफलले संसद्लाई जीवन्त बनाउने’ बताएका थिए। उनले संसद् अधिवेशन नहुँदा संसदीय काम प्रभावित भएको नबताएका उनले कसैले सोधेमा मात्र अधिवेशन बोलाउनुपर्ने अवस्था आएको कुरा बताउने गरेका छन्। नागरिक दैनिकबाट

‘सरकारले गत असार १८ गतेको संसद् अधिवेशन सभामुखलाई नै थाहा नदिई अन्त्य गरिदिएपछि उनलाई एउटा चोट परेको छ, त्यो चोटले गर्दा सभामुखले अधिवेशन बोलाउन कुनै पनि पहल गर्नुभएको छैन,’ सभामुख निकट स्रोतले बतायो। संसद् सरकारले आफैं बोलाउनुपर्ने हो तर, संसद्मा विगतको अभ्यास हेर्ने हो भने अधिवेशन बोलाउनका लागि सांसद र सभामुखको सक्रियता एकदमै देखिन्छ। ‘कोभिडको महामारीमा न विशेष अधिवेशन नै बेलाउन पहल भयो न त नियमित अधिवेशन नै बोलाउने पहल भयो,’ तत्कालीन एमालेका पूर्वसांसदले भने।



प्रतिक्रिया दिनुहोस्