Logo

मेलम्चीको पानी आउने मिति घोषणामै सीमित



काठमाडौं, मंसिर २६ । उपत्यकाका बासिन्दा विगत ३२ वर्षदेखि मेलम्चीको पानीको प्रतीक्षामा छन् । काठमाडौं आउनै लागेको खानेपानी सुरुङ परीक्षणकै क्रममा डिजाइन गलत हुँदा अझै अनिश्चित भइरहेको छ । सरकारले मेलम्चीको पानी आउने मिति धेरैपटक घोषणा ग¥यो तर आजसम्म पनि पानी आउने कुनै छाँटकाँट छैन । जुन सरकार आए पनि अधुरा घोषणा मात्रै गर्छन् । उपत्यकामा खानेपानीको पाइप बिच्छ्याएर घरघरमा धारा जडान गरे पनि पानी कहिले आउने हो अझै पत्तो छैन ।

खानेपानी आउने खुसी साट्न नपाउँदै काठमाडौं आउन लागेको पानी पुनः धकेलिएको छ । गत असारमा सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाउँदा ढोका गलत तरिकाले डिजाइन भएकाले दुर्घटना परी दुई जनाको निधन हुन पुग्यो ।

आयोजनाको समग्र भौतिक निर्माणको काम शुरु भएको २० वर्ष नाघिसकेको छ । सुरुङ निर्माणको काम शुरु भएको मात्र १२ पुगिसकेको छ । तर मेलम्ची कहिले आउँछ, सरकारले यकिन गर्न सकिरहेको छैन । थोरै प्रतिशत काम बाँकी रहँदा पनि उक्त काम तीव्र गतिमा अगाडि बढ्न सकिरहेको छैन । सम्भवतः यस वर्ष नै मेलम्चीको पानी काठमाडौं आउने दाबी खोनपानी मन्त्रालयले गर्दै आएको छ ।

मेलम्ची आयोजना शुरु भएसँगै उपत्यकाभित्र खानेपानी वितरणका लागि काम अगाडि बढेको पनि वर्षौं बितिसक्यो । खानेपानीको पाइप बिच्छ्याउन भत्काइएको सडक केही स्थानमा निर्माण भएको छ भने अधिकांश ठाउँमा धुलाम्मे अवस्थामा छ । सुन्दरीजलमा निर्माण गरिएको प्रशोधन केन्द्रमार्फत पहिलो चरणमा पाइपको परीक्षण गरिएको छ ।

तर मेलम्चीको पानी काठमाडौं नआउँदासम्म भत्काएको सडक बनाउने अवस्था छैन । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेका छन् । सुन्दरीजलबाट चाबहिल हुँदै ललितपुरसम्म लैजाने पाइपको परीक्षण गर्न अझै बाँकी नै रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्