Logo

बूढी गाई गिद्दलाई जिम्मा



तनहुँ, २६ मंसिर । छाडारूपमा छाडिएका गाई संरक्षणका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । दुई वर्षदेखि केन्द्र स्थापना गरेर छाडारूपमा छाडिएका गाई संरक्षण गरिएको हो ।

नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा हाल १३० भन्दा बढी गाई र तीनवटा गोरु छन् । नगरमा छाडा चौपायाको सङ्ख्या बढ्दै जाँदा सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि विसं २०७५ वैशाखदेखि गौ संरक्षण केन्द्र सञ्चालन भइरहेको छ । केन्द्रमा पशुचौपायको हेरचाहका लागि नगरपालिकाले दुई सहयोगी कर्मचारी राखेको छ ।

केन्द्रमा रहेका धेरैजसो गाई अशक्त अवस्थाका छन् । अति कमजोर अवस्थाका गाईलाई जिउँदै गिद्धले ठुँगेर मारिदिने गरेको केन्द्रका कोषाध्यक्ष भीष्म पौडेलले बताए । वर्षौँदेखि स्याहार नपाएका, दूध दिन छाडी थारा भएका, बूढा भएका गाई नै संरक्षण केन्द्रमा ल्याइने गरेकाले गाईहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको पौडेलले जानकारी दिए । “मर्नै लागेका गाई गाडीमा ल्याएर छाड्छन्, कतिले घिच्याउँदै ल्याएर छाड्छन्, त्यस्ता गाई गिद्धको नजरमा पर्छन्”, पौडेलले भने।

कमजोर गाईलाई गिद्धले जिउँदै सताउने गरेको भए पनि मरेका गाईको व्यवस्थापनमा समेत गिद्ध सहयोगी बनिरहेको पौडेलको भनाइ छ । मरेका गाई घिसार्दै केही पर सेती नदीको भिरमा फालिदिने र गिद्धले खाने गरेको उनले बताए। “शुरु–शुरुमा खाल्डा खनेर गाड्ने गरेका थियौै, ढुङ्गैढुङ्गा भएको जमिन भएकाले कर्मचारीले खाल्डो खन्न नसक्ने, डोजर भनेको समयमा नपाइने भएकाले गाईको शव गिद्धकै आहारा हुने गरेका छन्”, उनले भने । समय–समयमा समितिको बैठक नबस्दा केन्द्रलाई थप व्यवस्थित बनाउन नसकिएको कोषाध्यक्ष पौडेलले गुनासो गरे ।

छाडा गाईगोरुले बारम्बार खेती खाइदिँदा हैरान परेका स्थानीयवासी भने संरक्षण केन्द्र बनेपछि खुशी भएका छन् । गौ संरक्षण केन्द्र बनेपछि छाडा चौपायका कारण नगर क्षेत्रमा हुने सडक दुर्घटना घटेको केन्द्रका संयोजक गीता महतले जानकारी दिइन्। रासस



प्रतिक्रिया दिनुहोस्