Logo

बलात्कार घटना मिलापत्र गराउने ६ जना पक्राउ



मोरङ, २६ मंसिर । जबरजस्ती करणी घटना मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका–५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।

२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका–७ रंगेली बजारबाट पक्राउ गरेको जनाएको छ ।

थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागज सहित आ–आफ्नै घरबाट पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot