Logo

गुह्येश्वरी यात्राको विधि पूरा



काठमाडौं, २६ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ । यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमल–कमलपोखरी–कालोपुल हुँदै गुह्येश्वरी लगी पशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो । पशुपतिनाथ मन्दिर रहे पनि जात्राको विधि पूरा गर्न बिहीबार खोलेर तलेजु र गुह्येश्वरीको रथ घुमाइएको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिए ।

मार्गशीर्ष कृष्णनवमीका दिन बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सीमित व्यक्तिका बीच पशुपति क्षेत्रमा जात्रा गरिएको हो । जात्रा सम्पन्न गरी आज तलेजु भवानीलाई पुरानै मार्गबाट हनुमानढोका दरबार फर्काइएको उनले बताए । यससँगै यस वर्षको जात्रा सम्पन्न भएको समितिले जनाएको छ ।

जात्रा सकिएका अवसरमा मार्ग शीर्ष कृष्ण एकादशीका दिन आज गुह्येश्वरीमा जम्मा हुने भक्तजनलाई प्रसाद वितरण गर्ने गरिएकामा यस वर्ष मन्दिर बन्द रहेकाले पछि वितरण गरिने जनाइएको छ । आगामी पुस १ गतेदेखि पशुपतिसँगै गुह्येश्वरी मन्दिर पनि खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषको छ । गुह्येश्वरी मन्दिर पनि गत वर्ष चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीसँगै बन्द गरिएको छ । यसक्रममा नित्य पूजा, आश्विनशुक्ल पक्षको नवरात्रमा गरिने पर्व पूजा भने विगत वर्षझैँ सम्पन्न गरिएको जनाइएको छ । दुर्गा पक्षका बेला पनि विश्वमै महत्त्वपूर्ण शक्तिपीठका रुपमा मानिने गुह्येश्वरी भक्तजनका लागि भने खुला गरिएन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot