Logo

विप्लव समूहमाथि निगरानी बढ्यो, भिडन्तको भय



काठमाडौं, २६ मंसिर । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कडा नीति लिने भएको छ । विप्लव समूहले हिंसात्मक गतिविधि र चन्दा आतंक बढाएको भन्दै सरकारले सुरक्षा निकायलाई कडाईका साथ प्रस्तुत हुन निर्देशन दिइसकेको छ । प्रहरीले देशभर मातहतका कार्यालयलाई परिपत्र जारी गरी विप्लव समूहप्रति निगरानी देखि सुरक्षा कडाई गर्न भनेको छ । यसले देशभर भिडन्तको खतरा बढाएको छ ।

विप्लव समूहको सक्रियताबारे सुरक्षा प्रमुखसँग बुधबार गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी लिएका थिए । सुरक्षा समितिको बैठक बसी उनले पछिल्लो अवस्था र भविष्यमा चाल्ने कदमका बारे छलफल गरे । थापा विगत देखि नै विप्लवप्रति कठोर बन्दै आएका छन् । उनले हिंसात्मक गतिविधि गर्नेविरुद्ध कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएका थिए ।

मङ्गलबार विप्लव समूहले मोरङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरी जिम्मेवारी समेत लिएपछि त्रास बढेको छ । उक्त समूह अझ सक्रिय हुनसक्ने भन्दै सरकारले पनि कडा नीति लिएको हो । योसँगै देशका कतिपय स्थानमा सुरक्षाकर्मी र विप्लवका कार्यकर्ताबीच भिडन्तको अवस्थ ाबनेको छ । यसले शान्तिसुरक्षामा समेत चुनौती बढाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नै सर्वदलीय बैठक डाकेर राजावादी र विप्लव समूहको चुनौतीको सामना गर्न एकजुट हुन आग्रह गरेका थिए । उनले हिंसात्मक गतिवधि गर्ने शक्ति र दक्षिणपन्थी शक्ति सलबलाउन थालेको भन्दै कसरी अगाडि बढ्नेबारे सुझाव समेत मागेका थिए । यसलाई ओलीको कठोर कदम चाल्दै अगाडि बढ्ने तयारीका रुपमा बुझिएको छ । उनले कुनैपनि बहानामा हत्या हिंसा गर्नेलाई माफी दिन नसकिने बताइसकेका छन् । उनले शिक्षक श्रेष्ठको हत्या गर्नेलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने समेत बताए ।

यसैगरी शिक्षक श्रेष्ठको हत्याको जिम्मेवारी विप्लव समूहको मेची कोशी ब्युरोले लिएको छ । विप्लव समूहले मङ्गलबार साँझ नै प्रेस विज्ञप्तिमार्फत् हत्याको जिम्मेवारी लिएको हो । उसले श्रेष्ठमाथि सुराकीको आरोप समेत लगाएको छ । मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई सात जनाको समूहमा आएकाले घरबाटै अपहरण गरी लगिएका थिए । उनको खोजी गर्दा देउढुंगा जङ्गलमा शव फेला परेको थियो । श्रेष्ठको हात बाँधी हत्या गरिएको थियो । उत्तानो परेको शव रहेको ठाउँमा केही मडारिएको चिन्ह पनि थियो । घटनास्थलमा लाठीका अलावा शिक्षक श्रेष्ठको मोबाइल समेत फेला परेको थियो । मोरङमा विप्लव समूहबाट पहिलोपटक व्यक्ति हत्या भएको छ । देशभर विप्लव समूहको हिंसात्मक गतिविध बढ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्