काठमाडौं, २६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब पार्टीभित्रको विवाद कमिटी बैठकहरुबाटै समाधान गरिने स्पष्ट पारेका छन् । उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मात्रै सहमति भएर नहुने भन्दै सबै विवाद बैठकबाट हल गर्नुपर्ने बताए ।
उनले अब पार्टीमा देखिएका विवाद कोही व्यक्तिले भन्दैमा त्यही निर्णय मानेर अवस्था नहुने बताए । उनले भने,”अब ओलीजी र प्रचण्डजी मिलेर हुँदैन् । नेकपामा व्यक्तिको निर्णय काम लाग्दैन् । अब पार्टीले नै निर्णय गर्छ । अध्यक्ष ओली बैठकमा नआएपनि बैठक प्रक्रिया अघि बढ्छ । यसअघि सचिवालयमा पेश भएका दुवै अध्यक्षको प्रतिवेदन अघि बढ्छ । छलफल हुन्छ । बैठकबाटै अहिलेको विवादको समाधान हुन्छ ।”
नेकपाभित्रको विवादमा अध्यक्ष ओली पक्ष भने गत भदौ २६ गते भएको निर्णय र सहमति कार्यान्वयनको पक्षमा छ भने दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने भदौ २६ गतेको निर्णय ओलीले नमानेकोले अब नयाँ निर्णय गर्नुपर्ने अडानमा छन् । दाहाल नेपाल समूह बहुमतबाट भएपनि निर्णय गरेर ओलीलाई दुईमध्ये एक पदबाट हटाउने तयारीमा जुटेका छन् । नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गतेलाई तय भएको छ । File Photo/ReportersNepal