काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसले २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनमा रोकेर र्दुव्यवहार गरेको विरोधमा प्रदर्शन गर्ने भएको हो । प्रदर्शनका लागि काँग्रेसले नारा समेत तयार गरेको छ । जसमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जीन्दावाद’ पहिलो नम्बरमा छ ।
यतिबेला काँग्रेससँग बलियो राजनीतिक एजेन्डा छैन । त्यसैले उसले इतिहासकै कमजोर प्रतिपक्षीको भूमिका खेलिरहेको छ । देश कोरोना भाइरसको महामारीसँग जुध्दा भएका सरकारका गल्ती कमजोरीलाई समेत काँग्रेसले जुझारु तरिकाले प्रश्न उठाउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली शक्ति बढाउँदै लगेका छन् । तर, प्रतिपक्ष काँग्रेस निरिह बनेको छ । बरु उनकै दलभित्र त्यसको बलियो गरी विरोध भइरहेको छ । काँग्रेस नेकपाभित्रैको झगडामा रमाइरहेको छ । आफ्नो भूमिकाले बलिाये हुनेभन्दा नेकपा कमजोर भएको फाइदा उठाउन मौकाको पर्खाइमा छ ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग अझै ‘राष्ट्रवाद’को एजेन्डा छ । त्यो ढोंगी या जुनसुकै नाम दिएपनि उक्त एजेन्डाले उनलाई बलियो बनाइरहेको छ । पछिल्लो समय देशमा व्याप्त संघीयताप्रतिको असन्तुष्टिको फाइदा पनि ओलीले लिन खोजे । उनले देशको नामको अगाडि संघीय लोकतान्त्रिक शब्दावली हटाइदिए । अब नेपाल मात्र भने हुने बनाइदिए । ओलीले महङ्गीको मार र बेथिती हटाउन नसकेपनि जनतालाई चुच्चो नक्शा दिलाइदिए ।
एकपछि अर्को राजनीतिक अस्त्र फालेर ओली बलियो भइरहे । उनले शक्ति आफूमा केन्द्रित गर्दै लगे । तर, काँग्रेस निरिह बनेर मौनप्रायः बस्यो । संवैधानिक परिषदमा भागवण्डा पाइएला भनेर सभापति शेरबहादुर देउवा ओलीसँग जुध्ने भन्दा मिल्नेमै उचित ठानेर बसेका छन् ।
काँग्रेस अहिले लोकतन्त्र र गणतन्त्र नै खतरामा परेको देख्दैछ । राजावादीको प्रदर्शनले काँग्रेसलाई झस्काएको हुनुपर्छ । विगतमा राजावादीबाट काँग्रेस नै तारोमा परेको थियो । राजाको जस्तोसुकै प्रहारका बाबजुद काँग्रेसका संस्थापक नेता वीपी कोइरालाले आफू र राजाको घाँटी जोडिएको छ भनेका थिए । उनले मेलमिलापको नीति समेत लिएका थिए । तर, माओवादी जनयुद्धपछि शान्ति प्रक्रियाका दौरान काँग्रेस पनि गणतन्त्रमा गयो । राजावादीले त्यसपछि कम्युनिस्टसँग मिलेर काँग्रेसलाई अप्ठ्यारो पार्दै आए । अहिले राजावादी र कम्युनिस्ट दरिलो एजेन्डासहित प्रस्तुत भएका छन् । तर, मध्यमार्गी शैलीमा काँग्रेस एजेन्डाविहिन जस्तै भएको छ ।
काँग्रेसभित्र हिन्दुराष्ट्रको एजेन्डा उठाउनेहरु नभएका होइनन् । केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दुराष्ट्रको एजेन्डा बोकेर सक्रिय भएका छन् । महामन्त्री डा. शशांक कोइराला पनि यही एजेन्डाका पक्षपाती देखिन्छन् । तर, काँग्रेसले यो एजेन्डा बोक्ने सम्भावना निकै कम छ । त्यसो भए काँग्रेसले कस्तो एजेन्डा बोक्ला ? कि समय र परिस्थितिले कुनै एजेन्डा जन्मिएपछि काँग्रेसले त्यसलाई उठाउला ?