Logo

जाडोमा मृत्यु संख्या बढ्ने खतरा



काठमाडौं, मंसिर २७ । विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी छ।

कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी दिन नसकेर उपचारमा ढिलाइ हुँदा मृत्युदर बढेको छ। यो दर जाडोमा अझै बढ्ने स्थिति छ। ‘होम आइसोलेसनमा रहेका ८० प्रतिशतभन्दा बढी आमाबुवाले मोबाइल चलाउँदैनन्’, पुनले भने। मोबाइल नचलाउँदा उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यलाई समयमै खबर दिन सकेका छैनन्। राजधानीमा मानिस व्यस्त रहने र केही हुँदैन भनेर बस्ने क्रममै उपचारका लागि ढिलो भइसक्ने डा पुनले बताए।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्छ र व्यवसायमा घाटा पर्छ भन्ने सोचले पनि परीक्षण नगराउनु, कन्ट्याक्ट ट्रेसिङ नहुनु, जाडो महिनामा कोरोना भाइरस धेरै दिनसम्म जीवित रहनु, अन्य फ्लुको संक्रमण पनि बढ्नुजस्ता कारणले गर्मीको तुलनामा जाडोमा कोरोनाबाट बढी मृत्यु हुने सम्भावना रहेको चिकित्सकले औंल्याएका आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्