Logo

पाइप लाइनको काम तीव्र



काठमाडौं, मंसिर २८ । झापा चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा पुगेको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा नेपाल आयल निगम रहेको छ । रुटको पहिचानपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रियामा जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

चारआली—सिलगुडी पेट्रोलियम पाइप लाइन भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ । प्रवक्ता उपाध्यायले भने, “चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइन अहिले सर्भे सम्पन्न गरी रुटको पहिचान गर्ने काममा छौँ ।

हामी प्रारम्भिक चरणमै छौँ र प्रारम्भिक चरणको काम नै भइरहेको छ । ”
पाइप लाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । भण्डारण क्षमता वृद्धि गरिने छ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटरको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको निगमले जनाएको छ ।

चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् जसमा तीनवटा अन्डरग्राउन्ड हुने छन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना निर्माण हुने छन् ।

भण्डारण निर्माणका लागि प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्तिका बारेमा काम भइरहेको निगमले जनाएको छ । गण्डकी प्रदेशमा भण्डारणको निर्माण कार्य सुरु भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्