Logo

नेकपा विवाद: अब स्थायी समितिबाटै छिनोफानो



काठमाडौं, मंसिर २८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक शक्ति संघर्ष झन् उत्कर्षमा पुगेको छ । सचिवालय बैठकले जारी विवाद हल गर्न नसकेपछि स्थायी समिति बैठकमा छलफल शुरु भएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोपसहितको फरक–फरक लिखित प्रतिवेदन पेस गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

सचिवालयमा बहुमत सदस्यले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनप्रति समर्थन जनाएपछि थप निकास निकाल्न दुवै प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिएको छ । मंसिर २० गते बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर समस्या समाधानका लागि गृहकार्य अगाडि बढेको थियो । तर सात दिनको अवधिमा ओली र प्रचण्डका बीचमा एकपटक मात्र छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेन ।

अध्यक्ष ओलीले मिलेर अगाडि जान प्रचण्डसँग आग्रह गरे पनि जारी विवादको मुद्दा स्थायी समिति बैठकमा रहेकाले बैठकले गर्ने निर्णयअनुसार नै अगाडि बढ्नुपर्ने अडान राखेका छन् । स्थायी समिति बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ । स्थायी समिति बैठकले निर्णय गरेको अवस्थामा प्रचण्डको प्रस्ताव स्वतः पारित हुने एक स्थायी समिति सदस्यले बताए ।

सात दिनको अवधिमा दुवै पक्ष आ–आफ्नो रणनीति तयारीमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूनिकट नेताहरुसँग जारी विवादमा कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गरेको बताईएको छ । प्रचण्ड नेपाल पक्षले ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छोड्नुपर्ने रणनीतिलाई बटमलाइन बनाएको छ । तर अध्यक्ष ओलीले कुनै पनि हालतमा दुवै पद नछोड्ने अडान लिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्