Logo

कोरोना नियन्त्रणमा सरकारकै लापरबाही



काठमाडौं, मंसिर २८ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ। प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता गर्दै भाषण, उद्घाटन, जमघट, पार्टी, यात्रा, घुमफिर, बिहेलगायत कार्यक्रममा सहभागी हुने गरेका छन्।

मंसिर ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ पुगेर ‘मास’ लाई सम्बोधन गरे। पर्यटनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई, नेता सुवास नेम्बाङ पनि ओलीसँगै ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङको घुन्सामा बनेको स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका ओलीलाई ठूलै भिडले स्वागत गर्‍यो। त्यसबखत ओलीले कोरोना नियन्त्रणमा सरकारले बनाएका नियमकानुन सबै बिर्सिए।

त्यस्तै मंगलबार कीर्तिपुरस्थित ज्येष्ठ नागरिक भवन शिलान्यास कार्यक्रममा पनि प्रधानमन्त्री ओली सरिक हुँदा उसैगरी भिडभाड बढ्यो। कोरोना संक्रमणलाई पर्वाहै नगरी ओलीको जोसिलो भाषणले भिडलाई ततायो। कोरोना संक्रमण बढिरहेका बेला ओलीले कोरोनाभन्दा बढी भाषण राजनीतिक विषयमा गरे। यसरी कोरोना महामारीलाई नियन्त्रण गर्न सर्वसाधारणलाई भिडभाडजन्य गतिविधि नगर्न लिखित र मौखिक निर्देशन दिँदै आएको सरकार नै संक्रमणको जोखिम बढाउने गतिविधिमा सरिक भएको छ। सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली नै भिडभाडजन्य गतिविधि र मास भेलामा सहभागी हुँदै आएका छन्। प्रधानमन्त्रीले नै कोरोना संक्रमणलाई वास्ता नगरेपछि कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड फितलो बनेको छ।

यसबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बोल्न अस्वीकार गरे। ‘यसबारे मैले बोल्दिनँ, प्रधानमन्त्रीज्यू पुगेको ठाउँमा भिडभाड छैन,’ उनले भने, ‘अन्य कुरा अरूलाई नै सोध्नुस्।’ त्यसो त सरकारको विरोध गर्नेलाई भने कोरोनाको बहाना बनाउँदै ओली नेतृत्वको सरकारले कडाइ गर्दै आएको छ। १० दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शन रोक्न भन्दै लिखित निर्देशन दिएको थियो।

सामान्य होइन संक्रमण दर

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्