काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग दुरी बढेको छ । पछिल्लो समय संवैधानिक निकायमा नियुक्तका लागि कुरा मिल्न नसक्दा दुईबीच दुरी बढेको हो ।
विश्वस्त स्रोतका अनुसार देउवाले संर्वधानिक निकाय अन्र्तगत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकजना आयुक्त आफूले भनेको व्यक्तिलाई बनाउन चाहेका छन् । उनले निर्वाचन आयोगलगायत कतिपय निकायमा समेत आफू निकटलाई नियुक्ति दिलाउन खोजेका छन् । तर, प्रधानमन्त्री ओली यसमा सहमत छैनन् । उनले अख्तियारमा देउवाले भनेको व्यक्तिलाई नियुक्ति दिलाउन चाहेनन् ।
आफूले भनेबमोजिम संवैधानिक निकायमा नियुक्तिहरु हुन नसक्ने भएपछि देउवा आज बस्नुपर्ने संवैधानिक निकायको बैठकमा अनुपस्थित भए । देउवाले शुक्रबार नै अनुपस्थित हुने जानकारी गराएका थिए । उनको अनुपस्थितिले संवैधानिक परिषद बैठकमा गणपूरक संख्या पुगेन ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भए । सापकोटा नेकपा अध्यक्ष प्रचण्डका निकटस्थ हुन् । प्रचण्डकै जोडबल र अडानले अग्नि सभामुख भएका थिए । आजको बैठकमा उनी अनुपस्थित हुनुलाई प्रचण्डको अनुपस्थितिका रुपमा हेरिएको छ । प्रचण्डले पनि अख्तियार लगायत महत्वपूर्ण संवैधानिक निकायमा आफू निकटस्थहरुलाई नियुक्ति दिलाउन खोजिरहेका छन् । यसमा सहमति बन्न सकिरहेको छैन ।
अहिले ओलीले संवैधानिक निकायमा अधिकांश आफू निकटस्थलाई बनाउन खोजेपछि देउवा र प्रचण्ड दुवै असन्तुष्ट भएका छन् । यसले उनीहरुलाई नजिक बनाएको छ । देउवा आफै संवैधानिक परिषदको बैठकमा अनुपस्थित भए । प्रचण्डकै आग्रहमा सभामुख अग्नि सापकोटा पनि अनुपस्थित भए । गणपूरक संख्या नपुगेपछि संविधान अनुसार बैठक बस्न सकेन ।
संवैधानिक निकायको नियुक्तिका विषयमा ओलीसँग देउवा र प्रचण्ड दुवैले फरक शेली देखाएका छन् । यसलाई उनीहरुको निकटता बढाएको अवस्थाका रुपमा समेत हेरिएको छ ।
विगतमा पनि देउवा र प्रचण्ड निकट भएर सत्ता समिकरण समेत गरेका थिए । तर, प्रचण्डले देउवालाई धोका दिएको बुझाई रहेको छ । त्यसपछि देउवा चिढिएका छन् । यी दुई नेताबीच पछिल्लो समय सम्बन्ध सुधारको प्रयास बनिरहेको थियो ।