काठमाडौं, २८ मंसिर । उखु किसानले राजधानीमा आएर आन्दोलन शुरु गरेका छन् । उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएका हुन् । उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
लामो समयसम्म उखुको रकम नपाएपछि किसानहरुले गत वर्ष यही समयमा आन्दोलन गरेपछि सरकारसँग पाँच बुँदे सम्झौता भई चिनी मिलहरुबाट रकम भुक्तानी गराउने सहमति भएको थियो । त्यसको कार्यान्वयन नभएपछि उखु किसानहरु पुनः राजधानीमा आन्दोलनका लागि आएका हुन् ।
उनीहरुको आन्दोलनमा आज रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पनि सहभागिता थियो । किसानहरुको माग पूरा गराउन आफूले मिडियामार्फत सरकारलाई दबाब दिने पनि धमलाले विश्वास दिलाएका थिए ।
उखु किसान आन्दोलनमा (फोटोफिचर)
यसअघि पनि किसानहरु मिल मालिकसँग पैसा उठाईदिन माग गर्दै काठमाडौं प्रदर्शनमा उत्रिएका थिए । त्यतिवेला पनि पत्रकार धमलाले क्लबको साक्षात्कार, रेडियोमा बहस र टेलिभिजनमा अन्तर्वार्ता लिएर साथ दिएका थिए । धमलाले उनीहरुका माग पूरा गराउन सरकार गम्भिर बन्नुपर्ने तर्क गरेका छन् ।