Logo

भाजपा नेता चौथाइवालेले नेकपाको निम्तोमा भ्रमण गर्दा प्रचण्ड र माधव नेपाल बेखबर, बालुवाटारमा ओलीले भेटेकोमा भीम रावलको आपत्ती



काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई बिहिबार बालुवाटारमा भेटे । चौथाइवाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल भ्रमण आएका थिए । यसको जानकारी स्वयं चौथाइवालेले गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथाइवालेको भ्रमणबारे मिडियाबाट मात्र जानकारी पाएका थिए । विदेश विभाग प्रमुख माधवकुमार नेपालले पनि पछिमात्र जानकारी पाए । उनीहरुसँग चौथाइवालेले भेटवार्ता गरेनन् ।

चौथाइवालेले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा वार्ता गर्नुलाई विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना भन्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पूर्व उपप्रधानमन्त्री भीम रावलले आपत्ती जनाएका छन् । उनले चौथाइवालेलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दा आफ्नो पार्टीको कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइएको समेत उल्लेख गरेका छन् ।

यसअघि भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको भेटेको समेत रावलले आलोचना गरेका थिए ।

भीम रावलले लेखेका छन्ः आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो।देश,पार्टी र पदको गरिमाको रक्षा होस् ।फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्