Logo

कोलकाता बन्दरगाहमा ईडीआईः प्रणाली छ, पारदर्शी छैन



काठमाडौं, मंसिर २९ । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली लगाइएको ३ महीना बित्न लाग्यो । बन्दरगाह भन्सारको प्रक्रियालाई पारदर्शी र छरितो बनाउन लगाइएको यो प्रणालीबाट आयातकर्ताले अझै लाभ लिन भने पाएका छैनन् ।

कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो प्रणाली लागू गरिएको हो । ईडीआईमार्फत आयातकर्ताका प्रतिनिधिले आफ्नै कार्यालयबाट प्रक्रिया पूरा गर्न सक्ने बताइएको थियो । तर, भन्सारमै उपस्थित भएर प्रक्रिया पु¥याउनुपरेको प्रतिनिधिले बताएका छन् ।

कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउन असोजको पहिलो सातादेखि यो प्रणाली अनिवार्य गरिएको हो । त्यसअघि पनि बन्दरगाहमा यो प्रणाली कार्यान्वयनमा थियो । भन्सार कर्मचारीको स्वार्थका कारण प्रणाली प्रभावकारी हुन सकेको छैन ।

पछिल्लोपटक अनिवार्य गरिने घोषणाका साथ लागू गरिए पनि पुरानै प्रवृत्ति दोहोरिएको आयातकर्ताका प्रतिनिधिले बताएका छन् । अनलाइनबाट कागजात पेश गरेर प्रक्रिया पूरा गर्दा अदृश्य आय प्रभावित हुने भएकाले पूर्ण कार्यान्वयनमा बन्दरगाह भन्सारले बेवास्ता गर्दै आएको आयातकर्ताको गुनासो छ । भारतीय सीमा शुल्क प्रधान आयुक्तको कार्यालयले ईडीआई अनिवार्य गरेको थियो । भारतका लागि आउने कार्गोमा यसअघि नै पूर्ण कार्यान्वयनमा छ । नेपालको कार्गोमा मात्रै उदासीन देखिएको हो ।

कोलकाता बन्दरगाहबाट नेपालका लागि आउने अधिकांश कार्गो सीटीडीमा भित्रिन्छन् । वर्ष २०२०र२१ को पहिलो ८ महीनामा कोलकाता बन्दरगाहबाट ३४ हजार कन्टेनर ल्याइएका छन् ।

तीमध्ये २३ हजार ४ सय कन्टेनर कोलकाताबाट सडकमार्ग हुँदै नेपाल भित्र्याएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले बताएको छ । सडकबाट आउने सबै कन्टेनर सीटीडीमा आउँछन् । रेलमा समेत सीटीडीका कन्टेनर ढुवानी हुने गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्