Logo

काठमाडौंमा उखु किसानको प्रदर्शन



काठमाडौं, मंसिर २९। वर्षौंदेखि चिनी उद्योगहरूबाट बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले आइतवार दिनभर काठमाडौंमा प्रदर्शन गरेका छन् । एक वर्षअघि चिनी उद्योगीहरूले सरकारको रोहवरमा किसानसँग पाँचबँुदे सम्झौता गर्दै बक्यौता रहेको सम्पूर्ण रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गतवर्ष पुसमा भएको सम्झौता अनुसार २०७६ माघको पहिलो हप्ताभित्रै बक्यौताको सम्पूर्ण रकम भुक्तानी गरिसक्नुपर्ने थियो । तर, सम्झौता गरेको १ वर्ष बितिसक्दा समेत उद्योगी र सरकार दुवैले उक्त सम्झौता कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै उनीहरूले आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

आइतवार भएको प्रदर्शनमा सलार्हीबाट आएका १ सय उखु किसानको सहभागिता थियो । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफ्ना मागहरूलाई सरकारले बेवास्ता गरे सिंहदरबार र बालुवाटार समेत घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

अन्य जिल्लाबाट पनि किसानहरू प्रदर्शनका लागि आउने क्रम बढेको र अबको १र२ दिनमै प्रदर्शनकारीको संख्या बढ्ने उनले बताए । उनका अनुसार चिनी उद्योगीहरूबाट उखु किसानले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको आजका आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्