Logo

पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा



काठमाडौं, मंसिर २९ । विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश गरेको छ । मुद्दा पुर्पक्षका क्रममा थुनामा राख्न विशेषले आइतबार आदेश गरेको हो । आदेश अनुसार बस्न्यातलाई डिल्लीबजार कारागार चलान गरिएको छ । विशेषको थुनछेक आदेश उपर चित्त नबुझे बस्न्यातले सर्वोच्चमा निवेदन दिन पाउनु हुनेछ ।

फरार बनाइ विपक्षी बनाइएका बस्न्यात उपस्थित हुने निवेदन लिएर आइतबार अदालत पुग्नुभएको थियो । अदालतमा आइतबार नै थुनछेक बयान पनि भएको थियो । सरकारी जग्गा व्यक्तिको नाममा दर्तामा भूमिका खेलेको अभियोगमा बस्न्यातविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । विशेषका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाएको हो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बस्न्यातलाई थुनामा पठाउने आदेश भएको जानकारी दिनुभयो । तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाइ मुद्दाको बाँकी प्रक्रियामा सहभागी गराउन अदालतको आदेश भएको पाण्डेले बताए ।अदालतमा उपस्थित भएका बस्न्यातले आफूमाथिको अभियोग स्वीकार समेत गरेका छन् । आफैँले हस्ताक्षर गरेर प्रस्ताव तयार पारेको उनले स्वीकार गरेका हुन् । यस्तै, नक्कली जग्गाधनी र मोही खडा गरेकोलाई अदालतले थुनामा पठाउने प्रमुख आधार लिएको छ ।

बस्न्यातमाथि अख्तियारले सरकारी सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको, बदनियतपूर्ण लिखत तयार पारेको लगायतका आरोप लगाइएको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्