Logo

‘ग्राउन्ड ह्यान्डलिङ’ नेवानिलाई



काठमाडौं, मंसिर २९ । सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने भएको छ । यससम्बन्धी पत्रसमेत नेपाल वायुसेवा निगमलाई पठाइसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने निर्णय गरिसकेको जानकारी दिए।

गौतमबुुद्धको ९३ प्रतिशत र पोखराको ६७ प्रतिशत प्रगति भएको छ । गौतमबुद्धको डिसेम्बरभित्रै र पोखराको आगामी जुलाईसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसै आर्थिक वर्षभित्रमा नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी सरकारको रहेको छ ।

दुवै विमानस्थल सञ्चालनमा आइसकेपछि नेपाल वायुसेवा निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’को काम गर्ने छ । निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबाट वार्षिक करिब पाँच अर्ब रुपियाँ आम्दानी गर्दै आएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्