Logo

३८ तोला सुनका गहना चोरी गर्ने पक्राउ



काठमाडौं, २९ मंसिर । करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक पाँचखाल घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं बस्ने काभ्रे धुलिखेल घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं बौद्ध बस्ने काभ्रे धुलिखेल घर भएका १८ वर्षीय किशोर र काठमाडौं बस्ने काभ्रे धुलिखेल घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।

गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं ठमेलस्थित ड्रयागन डान्सबारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेलो धातु सहित काठमाडौं कमलादीबाट पक्राउ गरेको बताएको छ । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्