Logo

माछा मार्ने विषयमा झगडा हुँदा महिलाको मृत्यु



सप्तरी, २९ मंसिर । माछा मार्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच आइतबार राति झगडा तथा कुटपिट हुँदा गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय शिव सरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन् ।

उक्त स्थानमा झगडा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकोे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोधेबसाईन र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । कुटपिटबाट घाइते भएका ४ जनाको नर्सिङहोम लहान सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कुटपिटमा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्