Logo

एक सय ३६ किलोकी मुटुरोगी महिलाको नर्भिक अस्पतालमा एकैपटक पाठेघर र पित्तथैलीको शल्यक्रिया



काठमाडौं, २९ मंसिर । मुटुरोग भएकी १३६ केजी तौलकी एक महिलाको नर्भिक अस्पतालमा पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । बिरामीको पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्या भएपछि दुईटाको जटिल शल्यक्रिया गरिएको हो ।

नर्भिक अस्पतालमा वरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, बरिष्ठ सर्जन डा. सन्जय पौडेल, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. जेपी जैसवाल र डा. सुरेश लामिछोनेसहितको टिमले करिब साँढे दुई घन्टा लगाएर दुरबिन प्रविधिबाट ललितपुर पाटनकी ३८ वर्षीया रत्ना महर्जनको जटिल शल्यक्रिया गरेका हुन् ।

वरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले १३६ किलो तौल भएका बिरामीको दुरबिन प्रविधबाट पाठेघर र पित्तथैलीको एकै पटक शल्यक्रिया गर्नु निकै कठिन भएको बताइन् । उनले भनिन्, ‘अस्पतालमा उपलब्ध भएको अन्र्तराष्ट्रिय स्तरको सुविधाका कारण बिरामीको शल्यक्रिया गर्न सहजै सकियो ।’

शर्माले पाठेघरमा अधिक मासु पलाएको र पित्तथैलीको समस्याका कारण बिरामी सामान्य हिडडुल गर्न नसकोको अवस्थामा भएपछि शल्यक्रिया गरेको बताउदै भनिन्, ‘बिरामी शल्यक्रिया गरेको दुई दिनमा नै राम्रोसँग हिड्ने अवस्थामा हुनुहुन्छ ।’ उनले शल्यक्रिया गरेको तीन दिन भोली नै डिस्चार्ज गर्ने जानकारी दिइन् । शरीरमा बढी भएको तौल र मुटुको समस्या हुँदा समेत सहज ढंगले शल्यक्रिया सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् ।

बढी तौल भएकाहरुको पेट चिरेर शल्यक्रिया गर्दा धेरै रगत बग्ने, घाउ निको हुन समय लाग्ने र घाँउ पाक्ने जस्ता समस्या आउने भएकोले बिरामीलाई अधिक आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्सकहरुको भनाई छ ।

आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा. शर्माले बताइन् । टेष्ट ट्युब बेवी बिशेषज्ञ समेत रहेकी डा. शर्माले गत असारमा नर्भिक अस्पतालमा नै एक सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती गराएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्