Logo

कर्मचारी सुधार अभियानः कार्यालयबाट सेयरसम्बन्धी सबै काम गर्न प्रतिबन्ध



काठमाडौं, मंसिर ३० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको विकृतिले सेवाप्रवाह कमजोर भएको ठहर गर्दै मन्त्रालयले आम कर्मचारीलाई सेवाग्राहीमैत्री र जिम्मेवार बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन त्यस्तो अभियान थालेको हो ।

सोही अभियानअन्तर्गत मन्त्रालयले सोमबार मात्रै कार्यालयको समयमा कुनै पनि कर्मचारीले सेयरसम्बन्धी कार्य गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले कुनै पनि कर्मचारीले कार्यालय समयमा विद्युतीय माध्यम प्रयोग गरी सेयरसम्बन्धी कारोबार गर्न नपाउने गरी रोक लगाएको हो ।

अधिकांश कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा संलग्न रहँदै आएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नै राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारीले कार्यालय समयमा सेयरसम्बन्धी कार्य गरे नगरेको अनुगमन गर्दै त्यस्तो कार्य गरेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।यसअघि मन्त्रालयले उच्च पदस्थ कर्मचारीलाई लोकसेवा परीक्षाका लागि विभिन्न इन्स्टिच्युटमा गएर पढाउन प्रतिबन्ध लगाएको थियो ।

सुधारक र ‘बोल्ड’ निर्णय क्षमताका प्रशासकका रूपमा परिचित एकनारायण अर्याल सचिवका रूपमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनले एकपछि अर्को सुधारका कार्यलाई अभियानकै रूपमा अघि सार्दै आइरहेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

मन्त्रालयले सोमबार नै बहालवाला कर्मचारीबाट कानुनी तथा मन्त्रालयले गरेका निर्णयको पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गरी कानुन तथा निर्णय परिपालनको अवस्थालाई प्रभावकारी बनाउन सतर्कता केन्द्रलाई पत्राचार गरेको छ । साथै मन्त्रालयले आफैं पनि त्यस सम्बन्धमा अनुगमन गर्ने जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्