Logo

तराईका चरा आउन थाले काठमाडौँ



काठमाडौं, मंसिर ३०। तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् ।
जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको चाप बढ्दै गएको चराविद् डा हेमसागर बरालले बताए । मनोहरा खोलालाई अहिले मिनी कोसीटप्पु भनेर चराविद्समेत त्यहाँ धाउन थालेका छन् ।

उनका अनुसार समुद्री सतहदेखि तीन सय मिटरभन्दा तलै पाइने चस्मे भारद्वाज चरा एक हजार मिटरको उकालो तय गर्दै दुई दिनअघि मात्र मनोहरा खोलामा आएको छ । “गर्मीको मौसममा आएको भए पनि थोरै चिसो खान आयो भन्नु तर जाडोको समयमा काठमाडौँमा यसरी चस्मे भारद्वाज आउनु अचम्म नै हो”, डा बरालले भने । यो मात्र हैन केही दिनअघि तराईकै नरकट घाँसे चरी मनोहरा घुम्न आइपुगेको थियो । तराईमा पाइने नरकटका घाँसमा रमाउने त्यो चरा काठमाडौँ आउनुले पनि चरा उकालो चढ्न थालेको पुष्टि हुन्छ ।

यसैगरी तराईकै चुइयाँ चराका विभिन्न प्रजाति पनि यसै वर्ष उपत्यका भित्रिइसकेका छन् । पानी चुइयाँ चराले मनोहरा खोलामा पौडी खेलेको छ । सन् १९९२ ताका पहिलोपल्ट काठमाडौँ उक्लेको लालकण्ठे चुइयाँ चराले दोहो¥याएर यसपालि उपत्यका आएको छ । मालक र सुनजुरे चरा पनि दोहो¥याएर उपत्यका भित्रेका छन् ।
अहिले चराको स्वर्ग मानिने कोसी टप्पु, कपिलवस्तु र चितवनभन्दा पनि काठमाडौँ उपत्यकामा चराको आवतजावत बढेको छ ।

पहिले कहिल्यै नआएका चरा पनि काठमाडौँमा रेकर्ड भएका छन् । तराईको बाज रातो टाउके पौडाइ र सेता थोप्ला हुने सुन्दर कालो सारौँ पनि काठमाडौँ आइपुगेको छ ।
भक्तपुरको बोडे गाउँबाट तल झरेपछि आउने मनोहरा फाँट अहिले फिरन्ते चराको मुख्य आकर्षण बनेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्