Logo

बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह



काठमाडौ, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गरेका छन् । उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला सोमबार मन्त्रालयमा चिनी मिलका सञ्चालकसँगको छलफलमा उनले किसानको समस्या बुझ्न मिल सञ्चालकलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री भट्टले भने, ‘‘किसानको भुक्तानी कसरी दिनुहुन्छ, त्यो तपाईंहरूको जिम्मेवारी हो, किसानको पनि समस्या बुझ्नुस्, किसानलाई समस्या नभएको भए यो जाडोमा आन्दोलन गर्न काठमाडौँ आउने थिएनन्, त्यो समस्या चाँडै समाधान गर्नुस् ।’’ भुक्तानी दिन बाँकी रहेका विभिन्न छवटा चिनी उद्योगका सञ्चालकसँग भट्टको उपस्थितिमा छलफल भएको मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीले बताए । ‘‘वर्षौंदेखि किसानको भुक्तानी भएको छैन, पटक पटक भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुहुन्छ तर भुक्तानी हुँदैन । यस पटक कसरी हुन्छ भुक्तानी गर्नुस् ।

अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ,’’ मन्त्री भट्टले स्पष्ट पारे ।केके कारणले भुक्तानी दिन सक्नुभएन, कति भुक्तानी बाँकी छ? उद्योगको अवस्था के छ, कहिलेसम्ममा भुक्तानी गर्नुहुन्छ? लगायतका कुरा जनतालाई जानकारी गराउन मन्त्री भट्टले चिनी उद्योग सञ्चालकलाई आग्रह गर्नुभएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्