Logo

सुर्खेतमा मेलम्चीपछिको ठूलो खानेपानी आयोजना



सुर्खेत, मंसिर ३० । सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ । अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र यो काठमाडौँमा सञ्चालित मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना भएको खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक सूर्यराज कँडेलले बताएका छन्।

यो आयोजनाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उपत्यकाको तत्कालको समस्या समाधान गर्दै ३० वर्षसम्मको खानेपानीको आवश्यकता पूरा गर्नेगरी आयोजना अगाडि बढाइएको विभागले स्पष्ट पारे । आयोजनाको लागत करिब सात अर्ब रुपियाँ हुनेछ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले खानेपानी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमा समेत तयार रहेको जनाए।

चार वर्षदेखिको प्रयास
उपत्यकामा भेरीको पानी ल्याउन सङ्घीय र प्रदेश सरकारले पटक पटक बजेट विनियोजन गरे पनि योजना अगाडि नबढ्दा बजेट फ्रिज हुँदै आएको थियो ।
भेरी नदीको पानी उपत्यकामा ल्याउन चार वर्ष अघिदेखि चर्चा चल्दै आए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । अब विभागले यहाँको खानेपानी समस्या समधान गर्न दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी सक्रियता देखाएको छ ।

चार सय मिटर माथि पम्पिङ
उक्त ठाउँबाट पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिने छ । भेरीबाट चार सय मिटरमाथि पम्पिङ गरेर अमृतडाँडासम्म पानी ल्याउन मात्रै करिब दुई अर्ब रुपियाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ । अमृतडाँडामा १२ हजार क्युबिक लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ । मुहानदेखि अमृतडाँडासम्म पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा पानी वितरणका लागि संरचना तयार गर्न चार अर्ब ६३ करोड ७९ लाख नौ हजार रुपियाँ लाग्ने अनुमान रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्