Logo

स्वरोजगार बन्न आवेदन दिएका कोरोना पीडित भारततिर



डडेल्धुरा, मंसिर ३० । स्वरोजगारमूलक कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा आवेदन दिएका युवाहरु धमाधम भारत फर्किन थालेका छन् । कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकलाई स्वरोजगार बनाउन सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरी आवेदन माग गरेको थियो ।

चैत ११ यता मात्रै सुदूरपश्चिमका विभिन्न नाका हुँदै हालसम्म २ लाख २९ हजार १ सय ७० जना स्वदेश भित्रिएका छन् भने यही अवधिमा १ लाख ३७ हजार ७ सय १४ जना भारत प्रवेश गरेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकअनुसार त्रिनगर नाका हुँदै सबैभन्दा बढी १ लाख १० हजार ३ सय ८०, गड्डाचौकी नाका हुँदै २६ हजार ४ सय ५२, दार्चुलाको पुलघाट हुँदै ८ सय ३८ र बैतडीको झुलाघाट हुँदै ४४ जना भारत पसेका छन् ।

लकडाउन खुकुलो भएपश्चात् सुदूरपश्चिमका त्रिनगर र गड्डाचौकी नाका हुँदै गत साउनयता मात्रै १ लाख १६ हजार ५ सय ७१ जना भारत गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको तथ्यांकअनुसार २३ हजार ५ सय ८८ महिला, ७९ हजार ९ सय ३७ पुरुष र १३ हजार ४६ बालबालिका गरी १ लाख १६ हजार ५ सय ७१ जना भारत गएका छन् । यही अवधिमा ८२ हजार २ सय ७८ जना भारतबाट नेपाल फर्किएको प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा स्वरोजगारीका लागि आवेदन दिएका अधिकांश सर्वसाधारण पुनः भारत फर्किन थालेका हुन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्