Logo

आन्दोलनरत उखु किसानले भनेः उधारो वार्ता गर्दैनौं



काठमाडौं, मंसिर ३० । चिनी उद्योगीले वर्षौंदेखिको करिब ९० करोड रूपैयाँ बक्यौता नतिरेको भन्दै राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका उखु किसानले उधारो वार्ता नगर्ने बताएका छन्। सरकारले उखु उद्योगीसहित किसान अगुवालाई सोमबार वार्ताका लागि बोलाए पनि विगतका प्रतिबद्धता पूरा नभएको भन्दै किसान प्रतिनिधि सहभागी भएनन्।

माइतीघरमा भेला भएर आइतबारदेखि आन्दोलन गरिरहेका उखु किसानलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्तामा डाकेको थियो। किसान अगुवा प्रतिनिधि वार्तामा नगएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतिलाल दुगडले चिनी उद्योगीसँग मात्र छलफल गरे। उखु किसान सोमबार पनि माइतीघरमा धर्ना बसे।

सरकार साक्षी बसेर गत वर्ष उद्योगीले गरेका प्रतिबद्धता पूरा नगरेकाले उधारो वार्तामा बस्नुको औचित्य नभएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘गत वर्ष बक्यौता रकम चुक्ता गराउन भनेर सरकार साक्षी बसेको हो तर रकम मिलेन,’ मिश्रले भने, ‘उधारो वार्ता गर्नु औचित्य छैन।’ सरकारले पटकपटक झुक्याउने काम गरेको उनले बताए।

सरकारले जिम्मा लिए मात्र आन्दोलन स्थगित गर्ने किसानको माग छ। ‘विगतमा शब्दको खेलमा किसानलाई झुक्याउने काम भयो,’ मिश्रले भने। प्रधानमन्त्री राहत कोषमा भएको रकम किसानलाई दिएर सरकारले चिनी उद्योगीसँगबाट बाँकी रकम असुलउपर गर्न सक्ने उनले बताए। ‘सरकारले प्रधानमन्त्री कोषबाट हामीलाई पैसा देओस्,’ मिश्रले भने, ‘उद्योगीसँगबाट सरकारले असुल गरोस्।’

उखु किसान संघर्ष समितिका अनुसार रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड रूपैयाँ, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड रूपैयाँ, महालक्ष्मी सुगर मिलको ६ करोड रूपैयाँ, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड रूपैयाँ, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रूपैयाँ बक्यौता छ। महालक्ष्मी मिलले करिब ६ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको किसानले बताए पनि उद्योगले भने बैंक खाता नभएका किसानको करिब २० लाख रूपैयाँ मात्र बाँकी रहेको दाबी गर्दै आएको छ। महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया नेपाली कांग्रसका नेता हुन्। लुम्बिनी चिनी उद्योगका सञ्चालक राकेशकुमार गोयल हुन्। त्यसैगरी इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाल हुन्।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा हुन्। आन्दोलरत किसानका प्रतिनिधि उपस्थित नभएपछि सरकारले चिनी उद्योगीसँग मात्र छलफल गर्‍यो।

छलफलमा इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल, श्रीराम सुगर मिलका प्रतिनिधि उपस्थित रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्