Logo

ओलीले दिल्लीको दिल जित्लान् ?



दीपेश केसीः प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दुई महिनाभित्र भारतका गुप्तचर प्रमुख, सेनापति, विदेश सचिव देखि सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखलाई बालुवाटारमा भेटेका छन् । यी सबै भेट भारतसँगको सीमा समस्याले सम्बन्ध चिसिएर सुधारको पहलकदमी बढिरहँदा भएका हुन् । भारतले संवाद नै बन्द गरेर असन्तुष्टि जनाउँदा दिल्लीमा नेपाल मामलाका कतिपय जानकारहरु संवाद तत्काल शुरु गर्नुपर्नेमा जोड दिइरहेका थिए । जनरल अशोक मेहताले त लिपुलेक हुँदै भारतले सडकमार्ग खोलेपछि नेपालले तत्काल आपत्ती जनाउँदा नै संवाद थालिहाल्नुपर्नेमा जोड दिएका थिए । दुई देशको सम्बन्धको गहिराईलाई यथार्थपरक रुपमा बुझ्ने र व्याख्या गर्नेहरुले संवाद र समस्या समाधानमा जोड दिदै आइरहे । त्यतिबेला संवादमा बेवास्ता गर्दा अन्य शक्तिहरुले नेपालमा ठाउँ लिन खोजेपछि झस्किएको भारतले आफै छलफलको तत्परता देखायो ।

त्यसअघि नै नेपालमा ओलीको सत्ता निरन्तर डगमगाइरहेको थियो । चिनियाँ राजदूत होउ यान्छीको खुलेआमा सक्रियता देखियो । नेकपाका प्रभावशाली नेताहरुको घर घरमा उनको दौडले नेपालमा विदेशी प्रभावको नयाँ परिवेशको दृश्य देखिनथालेको थियो । एउटा समय थियो भारतीय राजदूत नेपालको राजनीतिमा नयाँ परिस्थिति बन्न लाग्दा यसरी नै सक्रिय हुन्थे । परिस्थिति त्यस्तै देखियो तर भारतको ठाउँमा चीनका राजदूत दौडिइन् । यसले पनि भारतीय पक्षलाई झस्काएको हुनुपर्छ । अहिलेलाई वर्तमान सत्तासँगै संवाद गर्दै बढ्ने उसको रणनीति देखिदै गयो । भारतीय अधिकारीहरु धमाधम नेपाल आउन थाले ।

भारतीय अधिकारीहरुको काठमाडौं दौड त्यतिबेला चल्यो जतिबेला नेकपाभित्र संकट गहिरिदै गएको थियो । झट्ट हेर्दा प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध चिसिएको देखिदैथियो । कतिपयले भारतको संस्थापन पक्षले ओली सरकार ढाल्न भूमिका खेल्न थाल्यो भन्ने सम्मको अनुमानहरु गरे । भारतप्रति उनको कडा अभिव्यक्तिहरु आइरहेकाले यो अनुमान स्वाभाविक लागे । नेकपाभित्रका उनका विपक्षीहरु यसैलाई अवसरका रुपमा ठानेर ओलीमाथि प्रहार गर्दै थिए । तर, ओलीले भारतीय पक्षको संवादको व्यग्रता र सहमति निर्माणको आकांक्षालाई राजनीतिक लाभको अस्त्र बनाउन खोजे । रअ प्रमुख सामन्तकुमार गोयल विशेष विमानबाट आएर बालुवाटारमा ओलीसँग महत्वपूर्ण भेट गरेपछि पार्टीभित्रका विरोधीलाई झड्का दिए । यो भेटलाई कूटनीतिक मर्यादाविपरित भन्दै भीम रावल मात्र विरोध गर्ने प्रभावशाली नेतामध्येका थिए । अरु सबै चुपचाप बसे । गोयलसँग भेटेको प्रधानमन्त्री ओली अझै मौन छन् । उनका प्रेस सल्लाहकार सुर्य थापाले मात्र यो भेटको जानकारी खुलाएका थिए । खुसुक्क भेट्ने गुप्तचरको शेली हो । संवेदनशील भेट खुलाउनुलाई अर्थपूर्ण मानिन्छ । यो खुलासाबाट पनि ओलीले लाभ लिन खोजेका छन् । उनले भारतसँग आफ्नो सम्बन्ध अझै बलियो छ भन्ने सन्देश प्रवाह गरेर पार्टीभित्र र बाहिरका विरोधीलाई कमजोर देखाउन खोजे ।

भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवाणे मानार्थ सेनापतिको दज्र्यान्ही चिन्ह लिन ढिलो गरी आएका थिए । तर, उनको भेटले दुई देशको सम्बन्धमा सैन्य तहबाट भूमिका खेल्न मद्दत पुग्यो । विगतमा नाकाबन्दीपछि चिसिएको सम्बन्ध सुधार्न पनि सैन्य कुटनीतिको प्रयोग गरिएको थियो । त्यतिबेलाका सेनापति राजेन्द्र क्षेत्रीको भारत यात्राले सकारात्मक भूमिका खेलेको थियो । यसपटक पनि त्यही कुटनीतिलाई प्रयोगमा ल्याइयो । नरवाणेको भ्रमणपूर्व रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यालयमा सिमित पारियो । सीमा विवादका बेला नरवाणेले बोल्दा पोखरेलले आपत्ती जनाएर अभिव्यक्ति दिएका थिए । रक्षामन्त्री आफैले लिएर ओलीले नरवाणेलाई सजिलो बनाइदिए । भ्रमणको अन्तिम दिन महत्वपूर्ण भेटवार्ता समेत गरे ।

त्यसपछि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आए । नेपाली राम्ररी बोल्ने र बुझ्ने श्रृंगलाले सीमा समस्या समाधानलगायतका विषयमा कुराकानी गरे । कर्मचारीको तहमा भएको यो भ्रमण आफैमा महत्वपूर्ण थियो । सम्बन्ध सुदृढ बनाउने आधार तयार गर्ने र विभिन्न तहमा संवाद र सहमति गरी दुई देश मिलेर अगाडि बढेका आयोजनाहरुलाई गति दिनेबारे समेत छलफल केन्द्रित भयो । त्यसपछि दुई देशबीच सचिवस्तरीय विभिन्न छलफलहरु भइरहे ।

श्रृंगलापछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएर गए । उनी नेकपा महासचिव विष्णु पौडेलको निम्तोमा आएका थिए । नेकपाको निम्तोमा चौथाइवाले गोरखपुर हुँदै स्थलमार्गबाट काठमाडौं आएर बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगे । तर, यसको खबर मिडियामा आएपछि मात्र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई जानकारी भयो । उनीहरुसँग चौथाइवालेको भेट पनि भएन । दुवै नेतासँग चौथाइवालेले भेटवार्ता नगर्नु अर्थपूर्ण रह्यो । बरु भ्रमणको तालिकामा नभएपनि काँग्रेस सभापति शेरबहादुर देउवा, राजपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भेटवार्ता गरे । नेपालको सत्तारुढ दलको निम्तोमा भारतको सत्तारुढ दलका विदेश विभाग प्रमुख नेपाल आएर त्यसका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई नभेटी गए । यस्तो अवस्था निर्माण गरेर ओलीले पार्टीभित्र आफूलाई चुनौती दिइरहेका प्रचण्ड र माधव नेपाललाई हिस्स मात्र बनाउन खोजेका त हैनन् ? यो प्रश्न उठ्यो । भीम रावलले चौथाइवालेलाई बालुवाटारमा प्रधानमन्त्री ओलीले भेट्नुलाई कुटनीतिक मर्यादाविपरित भनी बोले । उनले नेकपाको निम्तोमा आएका भाजपा विदेश विभाग प्रमुखको भ्रमणबारे कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई समते जानकारी नदिइनुमा गम्भीर आपत्ती जनाए । तर, ओलीले चौथाइवालेको भ्रमणबाट पार्टीका विरोधीलई फेरि कमजोर देखाउने प्रयास गरे । भारतसँग उनीहरुको भन्दा आफ्नै सम्बन्ध प्रगाढ छ भन्ने सन्देश दिन खोजे ।

एकातर्फ चीनलाई खुशी बनाउन ओलीले सगरमाथाको नयाँ उचाई बेइजिङबाट स्वीच थिचेर घोषणा गर्न स्वीकृतीका लागि सम्झौता गरिसकेका थिए । अर्कोतर्फ, दिल्लीमा दूतहरु पठाएर सम्बन्ध सुधारको पहल गरिरहेका थिए । अब ओलीको भारत भ्रमणको पहलहरु हुनथालेका छन् । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्ने चर्चा छ । भारतबाट गुप्तचर, सैन्य र कुटनीतिक तहबाट मात्र नभई राजनीतिक तहबाट समेत भ्रमण हुनुले प्रधानमन्त्री ओलीको भ्रमणको माहोल तयार गर्ने प्रयास भइरहेको बुझ्न सकिन्छ । नेकपाभित्रको विवादले भने भारतलाई मात्र नभई अन्य शक्तिराष्ट्रलाई पनि पर्ख र हेरको अवस्थामा पारिरहेको हुनुपर्छ । स्वयं प्रधामन्त्री ओलीले नेकपा सचिवालयमा आफूविरुद्धको आरोपपत्रको उत्तर दिने क्रममा मित्रराष्ट्रसँगको कतिपय विषय अल्झाएको अरोप समेत लगाएका छन् । उनले आरोपपत्रको जवाफमा प्रचण्डलाई भनेका छन्,‘कतिचोटी छिट्टै आफू सरकारको नेतृत्वमा आउने भएका हुनाले कतिपय विषय पछि सलटाउँला भन्दै मित्र राष्ट्र«सँगका कतिपय विषयमा अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि ?’ सत्ता संकटमा आइरहँदा कतिपय महत्वपूर्ण भ्रमणहरु अल्झिनसक्ने सम्भावना पनि रहन्छ । त्यस्ता भ्रमणमा कतिपय सम्झौताका विषय हुनसक्छन् । ओलीले प्रचण्डको आरोपसहितको राजनीतिक प्रतिवेदनको जवाफी लिखित पत्रमा भारत भ्रमणमा जाँदा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलासा गरेर विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिएको टिप्पणी गरेका छन् । त्यसले राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भीर प्रतिकूल असर परेको भनेका छन् ।

ओली भारतसँगको सम्बन्धमा जति बाहिर कडा देखिएका छन् उति नै गम्भीर पनि छन् भन्ने यी टिप्पणीहरुले पनि देखाउँछ । उनी भारतसँग प्रचण्ड या माधव नेपालको सम्बन्धलाई अगाडि बढ्न नदिन उत्तिकै गम्भीर देखिन्छन् । प्रचण्डले भारतमा बोल्दा राष्ट्रिय स्वाधिनतामा प्रतिकूल असर परेको देख्छन् भने भारतका गुप्तचर देखि राजनीतिक दलका नेतालाई बालुवाटारमा भेट्दा राष्ट्रको हितका लागि गरेकोले सबै जायज भन्दै सन्देश प्रवाह गर्न लगाउँछन् । ओली जतिसुकै भारतप्रति आक्रामक रुपमा बोल्ने गरेपनि दिल्लीको दिल जित्न हरप्रयत्नमा लागेको देखिदैछ । अन्तर्राष्ट्रिय राजनीतिको माहोल बदलिएपछि ओली पनि केही बदलिएको संकेतहरु देखिएको हो । चीनको शक्ति वृद्धिको काउन्टरमा अमेरिका र भारत मात्र नभई जापान र अष्ट्रेलिया एकजुट भएका छन् । यसले दक्षिण एशियाको राजनीतिमा समेत असर परिसकेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ सैन्य उद्देश्यले भारत, श्रीलंका र मालदिभ्स आएर सन्देश पनि दिएर गएका छन् । अमेरिका दक्षिण एशियामा भारतसँग मिलेर शक्तिको अभ्यास गरिरहेको छ । चीनसँग निकै नजिकको सम्बन्ध बनाएर भारतप्रति कडा देखिएका ओली माहोल परिवर्तनसँगै नरम बन्दै गएका छन् । यति मात्र नभएर उनी दिल्लीको दिल जित्ने प्रयासहरु गर्न थालेका छन् ।

बलिया शक्तिले जहिले पनि अर्को बलियोसँगै नै संवाद, सहमति र सहकार्य गर्न खोज्छ । अर्को कमजोरलाई खोजेर बलियो बनाउन खोज्नु भनेको ठुलै उद्देश्य अन्र्तगत मात्र हुनसक्छ । यसपटक भारतले पनि नेपालमा बलियै अवस्थामा रहेका ओलीसँगै नै सहकार्य देखाइरहेको छ । सत्तासँगै सम्झौता र लेनदेन रुचाउने शक्तिकेन्द्रहरुको शैलीका कारण पनि दक्षिण र उत्तरबाट बालुवाटारमा दौडधुप चलेको छ । ओलीले ती दौडधुपलाई आफ्नो सामथ्र्य र कुटनीतिक क्षमताका रुपमा समेत प्रस्तुत गर्दै आएका छन् । दिल्लीबाट काठमाडौंमा एकैपटक विभिन्न तहमा यसरी दौड कमै चलेको थियो । यसलाई ओलीले आफ्नो शक्ति वृद्धिका रुपमा सन्देश प्रवाह गर्न खोजिरहेका छन् । तर, देशभित्र सत्तारुढ दल नेकपाभित्रको घरझगडा, समाप्त भइसकेको राजतन्त्र फर्काउने राजावादीको बढ्दो प्रदर्शन, निष्कृय जस्तै नेपाली काँग्रेस सडकमा आउनु देखि विप्लवको बढ्दो चुनौतीले ओली आन्तरिक राजनीतिमा अप्ठ्यारोमा परिसकेको देखिन्छन् । राजावादीको बढ्दो प्रदर्शनले त अन्तर्राष्ट्रिय मिडियामा पनि स्थान पाउन थालिसकेको छ । यो आफैमा अर्थपूर्ण छ । आन्तरिक राजनीतिमा कमजोर हुँदै जाँदा कुनैपनि नेतालाई बाह्य शक्तिले धेरै काँध थाप्न उचित ठान्दैनन् पनि । अर्कोतर्फ, आन्तरिक संकट आउनुमा बाह्य शक्तिको पनि कुनै न कुनै भुमिका हुन्छ । वास्तवमा दिल्ली र बेइजिङबाट जतिसुकै दौडधुप चलेपनि ओली शासनसत्ता सम्हालेको तीन वर्षयता निकै चुनौती झेलिरहेका छन् । ओलीविरुद्ध चक्रव्यूह नै रचिएको घटनाक्रमले देखाउँदै लगेको छ । यसलाई तोड्न उनलाई कठिन परिरहेको छ । तर, हरेस खाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्