Logo

ओली पेलेरै बढेपछि प्रचण्डबाट कठोर कदमको तयारी



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन र संवैधानिक परिषदको नियुक्तिमा पेलेरै जाने निष्कर्षमा पुगेका छन् । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामेदव गौतमको समूहले घेराबन्दी गरेपछि ओली कठोर निर्णयका साथ पेलेर जान बढिसकेका छन् ।

ओलीले आजै मन्त्रिपरिषदबाट संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश सिफारिश गर्ने निर्णय गरेर प्रचण्डलाई कडा चुनौती दिएका छन् । आज साँझ बस्ने परिषद बैठकबाट ओलीले अख्तियारलगायतका निकायमा नियुक्ति दिने तयारी गरेका छन् । अब प्रचण्डनिकट सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा पनि नियुक्ति गर्न मिल्ने हुन्छ ।

सापकोटा परिषदको बैठकमा दुईपटक अनुपस्थित भए । पहिलोपटक अनुपस्थित विपक्षी दलका नेता शेरबहादुर देउवा आज उपस्थित भए । ओलीले देउवासँग संवैधानिक निकायका अख्तियारलगायतमा नियुक्तिको भागवण्डा मिलाएको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली प्रचण्डसँग भन्दा देउवासँग मिलेर जाने गरी अगाडि बढेका छन् ।

ओलीले पेलेरै बढ्ने तयारी गरेपछि प्रचण्डको पनि आफ्नै तयारी छ । उनले आकस्मिक रुपमा आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका छन् । उनले ओलीविरुद्ध कडा कदम चाल्ने बुझिएको छ ।

नेकपा स्थायी कमिटी बैठक भोलि बस्ने तय भएपनि प्रचण्ड पक्षले आजै कडा कदम चाल्ने तयारी गरेको छ । ओलीविरुद्ध अब प्रचण्ड वार कि पारको लडाईंमा पुगेका छन् । यसले नेकपालाई दुर्घटनामा पुर्याउने अवस्था विकास भएको छ ।



प्रतिक्रिया दिनुहोस्