Logo

हिन्दु राष्ट्र र राजसंस्था पुर्नबहालीको लागि नेपाल नागरिक अभियानको बुधबार बसन्तपुरमा ऐक्यवद्धता अभियान



काठमाडौं, ३० मंसिर । नेपाल नागरिक अभियानले सनातन हिन्दु राष्ट्रसहित राजसंस्था पुर्नबहालीका लागि भोली बसन्तपुरमा ऐक्यवद्धता सभाको आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानले बसन्तपुरको हनुमानढोका राज प्रसाद पटाङ्गिनिमा ११ः४५ बजे कार्यक्रम गर्ने जानकारी दिदै उपस्थित भएर ऐक्यवद्धता जनाउन उपत्यकावासीलाई अपिल गरेको हो ।

नागरिक अभियानका राष्ट्रिय संयोजक पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठले हिन्दुराष्ट्रसहितको राजसंस्था जतिसक्दो छिटो पुर्नबहाली गरी देशलाई संकटबाट जोगाउनुपर्ने भन्दै उपत्यकावासीलाई अभियानमा सहभागी भइदिन अपिल गरेका छन् । उनले भने, ‘देशलाई जोगाउन जतिसक्दो छिटो संघियता खारेज गरेर सनातन हिन्दुराष्ट्र सहित राजसंस्था पुर्नबहाली गर्नु पर्छ ।’ उनले २०७७ पुष १ गते बुधबार महेन्द्र जयन्तीको दिनमा महेन्द्र शालिकमा माल्यार्पण कार्यक्रम गर्ने र ११ः४५ बजे हनुमान ढोका राज प्रसाद पटाङ्गिनिमा भेला हुने जानकारी दिए । श्रेष्ठले देश भ्रष्टाचारमा चुर्लुम्ब डुबेकोले यो राजनीतिक प्रणालीबाट जनताले दुःख पाएको तर्क गरे । जनतालाई पीडाबाट मुक्त गर्न राजनीतिक प्रणालीमै परिवर्तन ल्याउनुपर्ने बताए ।

अभियानका महासचिव डा. हरिहर प्रदीप घिमिरेले देशमा हिन्दु राष्ट्र र राजसंस्था पुर्नबहाली निश्चित भएको बताए । उनले राष्ट्रवादी शक्ति सबै एक ठाउँमा उभिएर अभियानलाई सफल बनाउनुपर्ने बताए ।

नेपाल नागरिक अभियानका केन्द्रीय अभियन्ता हेम रत्न शाक्यले जनताले गणतन्त्रबाट निकै प्रताडना भोग्नुपरेको बताए । उनले अब हिन्दुराष्ट्रसहितको राजसंस्था अनिवार्य भएको बताए ।

पुर्न उत्थानवादि शक्ति अध्यक्ष शेखरजङ्ग रायमाझीले मुलुक अहिले संकटमा रहेको भन्दै गणतन्त्रको तत्काल अन्त अनिवार्य भएको बताए । देशमा बेरोजगारी बढेको र अनियमितताले हद नाघेको भन्दै सबै एक भएर हिन्दुराष्ट्र र राजसंस्था पुर्नबहालीमा एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मुलुकको रक्षाको लागि एक भएर अगाडि बढ्न राष्ट्रिय एकता बनाउन जरुरी छ । लोकतान्त्रिक गणतन्त्र भन्नेहरु सत्तामा छन् र गणतन्त्र र लोकतन्त्रको धज्जी उडाईरहेका छन् ।’

शिवसेनाका सह–अध्यक्ष दिनेश कँडेलले नागरिकको मुक्तिको लागि हिन्दुराष्ट्र र राजसंस्थाको लागि ऐक्यवद्धता अभियान चलाएको बताए । गणतन्त्र र लोकतन्त्र भन्नेहरु अहिले लाचार भएर डगमगाइरहेको बताए । उनले पहिलो चरणको आन्दोलनले हल्लाएको गणतन्त्रलाई दोस्रो चरणको आन्दोलनले ढालिदिने बताए । दोस्रो चरणको आन्दोलनको लागि छलफलमा रहेको पनि जानकारी दिए ।

स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेम बिक्रम सिलवालले सबै नागरिक एकजुट हुने बेला आएको बताए । ‘नेपालको वास्तविक कम्युनिस्ट भनेको नै राजा हुन्’ सिलवालले भने, ‘देशलाई सनातन हिन्दु राष्ट्र र राजा सहिको प्रजातन्त्र पुर्नबाहाली गर्न अहिलेको आवश्यकता हो ।’

कार्यक्रममा बोल्दै समाजसेवी राजन महर्जनले आफ्नो लागि राजा र भगवान कहिले नमर्ने बताए । उनले भने, ‘देश अहिले लथालिङ्ग भएको छ, सत्तामा बसेकाले देश बेचेर खाईसके अब भक्तपुर ललितपुर र काठमाडौका नागरिक जाग्न जरुरी छ ।’

उपत्यकाका युवा जनशक्तिका संयोजक मनिष मानवले अब युवा एकजुट हुन जरुरी रहेको बताउदै कोरोनाको नाममा लुटतन्त्र भएको जिकिर गरे । जातिय आधारमा झगडा गराउन खोजेको आरोप समेत लगाए । राजसंस्था पुर्नस्थापनका लागि भक्तपुर, ललितपुर र काठमाडौका नेवारहरु अब जाग्न जरुरी छ उनले भने ।

यसैगरी, अभियानले नेपालको पहिचान सनातन हिन्दु राष्ट्र कायम गरी सबै धर्मावलम्बीहरुलाई आ–आफ्नो धर्म परिर्वतनलाई निषेध गर्न गराउन, संवैधानिक राजसस्था सहितको प्रजातन्त्र पुर्नस्थापना गराउन, चरम भ्रष्टाचार, अनुत्तरदायीपन तथा भुमाफिया प्रवत्तिलाई निषेध गरी अवैध सम्पत्ति कब्जा गरी राज्यकोषमा जम्मा गराई निशुल्क स्वास्थ्य र शिक्षामा उपयोग गर्न, राज्य व्यवस्थामा राजनिति, न्यायपालिका र प्रशासनलाई अलग रुपमा परिभाषित गर्ने , स्वतन्त्र र निष्पक्ष न्याय प्रणली कायम गराउन र छिमेकी राष्ट्रहरुसँग असलग्न परराष्ट्र नीतिका आधारमा छिमेकी देशहरुको सुरक्षामा खलल हुने गरी कुनै पनि गतिविधि हुन नदिने र नेपालको रक्षा सुरक्षामा कतैबाट हस्तक्षेप हुन नदिन माग राखेको छ ।

नेपाल नागरिक अभियानले जारी गरेको प्रेस–विज्ञप्ति:

प्रत्येक नेपालीले आ–आफ्नो सनातन धर्म र पारस्परिक सदभाव कायम राखी चार जात छत्तिस बर्णको साझा फूलवारीका रुपमा पौराणिक कालदेखी नै नेपालले आफ्नो स्वाभीमानपूर्ण छवी कायम राख्दै आएकोमा केही दशक यता मूल्यहीन राजनीति र अनुत्तरदायी प्रवृतिले सनातन धर्म र संस्कार पध्दतिलाई परित्याग गराई नेपाली मौलिकता र राष्ट्रिय स्वाभीमानलाई उपेक्षा गर्नाले परावलम्वी निरीह वन्दै आएको पीडा सवैले अनुभव गरेको तीतो सत्य हो । विभिन्न राजनीतिक वादका नाममा २००७ सालदेखी २०४७ सालसम्म विगत सात दशकमा ३९ पटक प्रधामन्त्री वने । हुनु नहुनु भयो, तर नेपाल र नेपालीको हकहीतमा उल्लेख्य केही भएन । जसको फलस्वरुप हाम्रा अनादि सनातन मूल्य मान्यता मौलिक संस्कार, संस्कृति, बिधि र पध्दतिलाई परित्याग गर्दै सनातन धर्मका संरक्षक नेपाली एकताका प्रतिक राजसंस्थालाई पाखा लगाई निषेधको षडयन्त्र तथा दलीय भागवण्डाका आधारमा राष्ट्रका श्रोत र साधन दोहन गरी चरम भ्रष्टाचारमा विश्वमा कुख्यात वनाउन, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय स्वाधिनतामा समेत पराईहरुको परेड भै रहेको अवस्थामा पनि सरकार, संसद र प्रतिपक्ष पुरै मूकदर्शक भै रहेका छन ।

२०४७ सालको संविधानलाई नासेर आएको २०७२ सालको संविधानले सवै समुदायलाई समेटेर सनातन पहिचानको संरक्षण र सम्वर्दधन गर्न सकेन । राष्ट्रिय एकताका धरोहर, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सम्वन्ध र छिमेकीहरुसंगको कुटनीतिका जगहरु खलवलिएका छन । सवै द्वन्द पीडित, अशक्त, सहिद परिवार, फरक क्षमता, महिला, रैथाने जनजाती, दलित, अयोग्य लडाकु, वाल सेना, जनजाती आदिका गुनासाको यथोचित समाधान हुन सकेका छैनन । दिन प्रतिदिन नागरिकलाई ऋणको भार थपिए पनि रोग, भोग र वेरोजगारको भरपर्दो व्यवस्था हुन सकेका छैनन । मजदुर, किसान मात्रै होईन अधिकतम उद्योगी, व्यवशायी तथा विभिन्न विधाका विज्ञहरु समेत सन्तुष्ट हुन नसकिरहेको अवस्था विध्यमान छन । देशमा जन निर्वाचीत वहुमतको कम्युनिष्टनामको सरकार हुंदा पनि राज्यको सरकार तथा प्रजातन्त्रनामको प्रतिपक्षकै उपस्थिति अनुभुति हुन नपाउनु देशको दुर्भाग्य हो । राष्ट्रिय पहिचानका मठ, मन्दिर, गुम्वा, चैत्य, पाटीपौवा, चाडवाड, जात्रा, पर्व, गुठी तथा बाहाःवहील समेतको संरक्षण संवर्धन हुन सकेनन । उद्योग कलकारखाना बेचिए वा बन्द गरिए, वेरोजगार युवालाई विदेश पलायन हुन बाध्य पारियो ।

यस राष्ट्रिय संकटबाट राष्ट्रलाई बचाउन सनातन धर्म सापेक्ष हिन्दु राज्य र संवैधानीक राजसंस्थाको अभिभावकत्वमा प्रजातान्त्रिक व्यवस्था कायम गर्ने संघियता खारेज गर्ने उद्देश्यले नेपाल नागरिक अभियानले अधिराज्यभरी अभियान चलाई देश भर संगठन विस्तार गर्दै आजसम्म ४३ जिल्लामा पुगी सकेको छ । निकट भविष्यमा सवै जिल्लास्तर सम्म पुग्ने लक्ष्य रहेको परिप्रेक्षमा यही २०७७ साल पौष १ गते श्री ५ महेन्द्रको शालिकमा माल्याअपर्ण गरी अपरान्ह ११ः४५ बजे हनुमान ढोगा राज प्रसाद पटाङ्गिनीमा भेला जम्मा भई काठमाण्डौ उपत्यका समन्वय उदघोषण समारोहको आयोजना गरिएको छ । काठमाण्डौ उपत्यकावासी आदरर्णीय दाजुभाई दिदीवहिनीहरु, विज्ञ पत्रकार, संचारकर्मी, विद्वान बुध्दिजीवि, उद्योगी व्यबशायी, मजदुर, किशान, युवापिढीहरुको गरिमामय उपस्थिति, सहभागिता, सहयोग र सकृयताले निर्णायक भूमिका निवार्ह गर्न सक्ने कुरामा यस अभियान विश्वस्त रहेको हुदा गरिमामय उपस्थितिका निमित्त हार्दिक अपिल गर्दछौं । साथै आ–आफ्नो संघ संस्था तथा अभियान र दलको पहिचान कायम राखी सहअस्तित्वलाई स्वीकार गरी ईतिहासमै एक पटक नेपाली बलवुताको एकिकृत आन्दोलन संचालनको अपरिहार्यता रहेको हुदा उद्देश्यहरूमा मेल खाने दल र अभियानहहरूसंग सहकार्य गर्न र सवैलाई समेट्ने एकिकृत आन्दोलनमा सकृय रहन यस अभियान प्रतिवध्द छ । तसर्थ हाम्रो यस पवित्र सङ्कल्प पुरा गर्न देशको मुटु राजधानी वासी धर्मपरायण सबै आमाबाबु दाजुभाइ दिदीबहिनी विद्यार्थी, विद्वान बुद्धिजीवि ,पत्रकार सुरक्षाकर्मी ,राजनीतिज्ञ लगायत आमजनताको आबद्धता र सकारात्मक सहयोगको अपेक्षा राख्दछौँ ।

नेपालमा समस्या मात्र होईन, प्रशस्त सम्भावनाहरु पनि छन । संस्कृति, प्रकति र प्रविधिको सन्तुलनले देशको चौतर्फी विकासमा टेवा पुग्ने छ । सतत अभियान आन्दोलनलाई निस्कृय पार्न षडयन्त्रका आभाष समेत देखिन थालेका छन । हिमाल, पहाड र तराईका आदरर्णीय नेपाली नागरिक, राष्ट्रसेवक कर्मचारी, राष्ट्रिय सेना लगायतका सुरक्षा निकायहरुको विवेकपूर्ण साथ समर्थनले संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र पुर्नस्थापना तथा संघीयता खारेज गरी देश सुरक्षीत, संरक्षीत र विकसित हुने कुरामा यस अभियान विश्वस्त छ । जय तलेजूभवानी, जय दीपङ्करबुद्ध ,जय कालभैरव ।

राष्ट्रिय संयोजक                                  महासचिव                                       केन्द्रीयअभियन्ता
(डा. ठाकुर मोहन श्रेष्ठ )             (डा. हरिहर प्रदीप घिमिरे)                           (हेम रन्त शाक्य)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot